मंसीर महिनाको पारिलो घाममा बरन्डामा बसेर चियाको घुटको लिंदै कान्तिपुर पत्रिका पढ्दै थिएँ ।
रातभरि शीतले भिजाएको बरन्डा बिस्तारै बिस्तारै न्यानो हुँदै थियो । मेरो मन भने चार पाँच दिनदेखि त्यसैत्यसै गलिरहेको थियो, पोलिरहेको थियो । न त अस्पतालमा जान मन लाग्थ्यो न त क्लिनिकमा । खै किन यस्तरी मन आन्दोलित र दुःखी भइरहेको थियो- म आफैंलाई राम्ररी थाहा थिएन । तर मनभित्रको आवेगलाई रोक्न सकेको थिइनँ ।
कान्तिपुर हेर्दाहेर्दै समवेदना शीर्षकमा झट्ट आँखा पर्यो जुन शीर्षक हेर्न र पढ्न आतुर थिएँ म । त्यहाँ तिम्रो सुन्दर फोटो छापिएको थियो । तलपट्टि तिम्रो नाम थियो स्व. अरुणा श्रेष्ठ । अझ त्यसको तलपट्टि मेरा भावुक र उद्वेलित हृदयका उद्गारहरू । अन्तिममा मेरो नाम डा. निखिल शर्मा ।
म कुन संवेगमा आएर यो समवेदना व्यक्त गरें ? के नाता थियो तिमीसँग ? मानवीय नाता ? अथवा प्रेमिका ? यो पनि होइन । कुनै खास नाता नभए पनि तिम्रो प्रभावकारी व्यक्तित्व नै मेरो अन्तरमनको नाता थियो । तिम्रो अकाल मृत्यु नै मेरो हृदय पगाल्ने माध्यम थियो- तिम्रो बाँच्नुको तीव्र चाहना नै मलाई उद्वेलित बनाउने विशेषता थियो ।
तिमीजस्ती कलकलाउँदी युवतीको असामयिक मृत्युवरणले कसको हृदय विह्वल हुँदैन र ?
दोहोऱ्याई तेहऱ्याई पढें ती समवेदनाका हरफहरू मन धेरै दुख्यो । त्यो असीम शून्य आकाशको बादलको छिर्बिरे झ्यालबाट मेरा अर्थहीन उद्गार पढेर मानौं भनिरहेकी छ्यौ, ‘डाक्टर ! तिमी असफल भयौ । मैले जितें- तिमी हायौ ।’ अन्तरीक्षको गहिरो सन्नाटाबाट प्रतिध्वनित तिम्रा ती अभिव्यक्तिहरूले मनलाई ठक्कर दिइरहे, समुद्रका छालहरूले किनारालाई ठक्कर दिएझैं आज आफ्नो अन्तस्थमा उम्लिरहेका कुराहरू पोख्न हतारिएको छु जुन कुराहरू तिमीसमक्ष पोख्न असमर्थ भएको थिएँ ।
अचानक एक दिन तिमी आएकी थियौ मेरो क्लिनिकमा बाँच्नुको उत्कट जिजीविषा लिएर । जब तिमी मेरो कोठामा प्रवेश गर्यौ मलाई अनुभूति भयो- मानौं तिमी आत्मीयता र आत्मविश्वासको प्रकाश बोकेर प्रवेश गरिरहेका छ्यौ । पहिलोपल्ट नै अनौठो आकर्षणको बिजारोपण गरेकी थियौ मभित्र । एकै क्षणमा तिमीले मेरो सानो क्लिनिक र मेरो हृदयलाई आफ्नो बनाएकी थियौ । तिमी भर्खरकी बीस-पच्चीस वर्षकी सुन्दरी युवती । खै के रोगले हो- दुब्ली, रक्तहीन र मधुरो देखिन्थ्यौ तर तिम्रो व्यक्तित्वका विम्बहरूमा स्नेहिल सम्पन्नता, स्वस्थ आशावादिता निर्मल जल झैं झल्किन्थ्यो ।
तिमीले आउनासाथ नमस्कार गर्दै टेबलनिरको कुर्सीमा निर्धक्क बस्दै भन्यौ, “डाक्टर ! एक वर्षदेखि म पेट दुख्ने रोगले आक्रान्त भएकी छु । कति डाक्टरहरूलाई देखाइसकें, कति औषधि लिइसकें, अरू डाक्टरहरूबाट निराश भएकी छु । तपाईंलाई देखाउन साथीहरूले सिफारिस गरेकाले आएकी हुँ । तपाईं त यो शहरको प्रसिद्ध डाक्टर । म त पूरै विश्वास लिएर आएकी छु तपाईं समक्ष । म बाँच्न चाहन्छु डाक्टर ! दीघार्यु र स्वस्थ भएर । मलाई जीवनमा थुप्रै कामहरू गर्नु छ । थुप्रै सुख भोगहरू गर्नु छ । मलाई सञ्चो होला नि डाक्टर !”
तिमीले मेरो समक्ष निसङ्कोच र स्पष्टसँग राखेका तिम्रा मनका भावनाहरू सुनेर मनलाई एक प्रकारको चुनौतीले घेर्यो तर म अचम्मसँग प्रभावित भएको थिएँ । सोचें तिमीलाई निको गराउन सकूँ । तिमीलाई खतरनाक रोगले आक्रमण नगरेको होस् । मनमनै प्रार्थना गरें । तिम्रो बाँच्नुको तीव्र चाहनाले मन चसक्क भइरह्यो ।
तिमीले आफ्नो ब्यागबाट पुराना प्रेस्क्रिप्सन झिकेर मलाई देखायौ । फूर्तिसाथ सरसर्ती हेरेँ । निरीक्षण गर्न थालें तिम्रो कान्तिहीन अनुहारमा ।
मैले देखें- तिम्रो अनुहारमा भयावह कुहिरोले ढाकेका छ । मन ढक्क फुल्यो । तिमीले कति ठूलो आशा र विश्वासले मसँग जीवन रक्षाका लागि भिख माग्दै थियौ । मभित्र संवेदनाको पखेटा फडफडाउन थाल्यो तिम्रो करुणाजन्य स्थिति, तिम्रो कलिलो उमेर देखेर ।
आफ्नो पेसागत धर्म अनुसार तिमीलाई आश्वस्त पार्दै भनें, “किन यस्तरी आत्तिनु भएको ? आत्मविश्वास र आत्मबल नगुमाउनुस् पहिला । म तपाईंलाई थरोली चेकअप गर्छु । यस्तरी तपाईं पहिले नै आत्तिनुहुन्छ भने मलाई पनि औषधि गर्न गाह्रो हुन्छ । आफ्नो शक्ति र क्षमताले भ्याएसम्म म तपाईंलाई राम्ररी औषधि गर्छु । मलाई साथ दिनुस् ।”
लाग्यो मेरो कुरा सुनेर तिम्रो अनुहारलाई ढाकेको कुहिरो छाँट्टिदै छ र बाँच्ने जीवनको गोरेटो भेट्टाएकी छौ ।
मनमा प्रसन्नताले भरियो तिम्रो उज्यालो अनुहार देखेर ।
“तपाईंको साथमा अरू कोही आउनुभएको छैन ?” डाक्टरी भाषामा सोधें मैले ।
मुसुक्क हाँस्दै तिमीले भन्यौ, “अहँ डाक्टर ! म त नाबालिका त होइन नि । म एक्लै यो शहरमा बसेकी छु । सङ्घर्ष गर्दै पढ्दै छु, काम गर्दै छु । म नै मेरो अभिभावक हो । कमजोर मन भएकी स्वास्नीमान्छे त होइन, रोगले पो कमजोर भएँ ।”
“होइन-होइन, त्यसो त जरूरी छैन । तर कहिलेकाहीँ बिरामी मान्छे एक्लै आउँदा समस्या पर्न सक्छ ।”
तिमीले तत्कालै जवाफ दियौ, “यतिखेर डाक्टर तपाईं नै अभिभावक, तपाईं नै साथी, अरू किन चाहियो ?”
तिम्रो श्रुतिमधुर कुराहरू प्रिय लाग्यो, आफ्नो लाग्यो । म कति मुग्ध भएको थिएँ तिम्रो दरिलो जवाफ सुन्दा । म कति छक्क परेको थिएँ तिम्रो हृदयको आवाज सुन्दा ।
म तिमीबारे जानकारी हासिल गर्न चाहन्थें, तिमीप्रति उत्सुकता बढ्दै थियो- मभित्र बिस्तारै ।
“घर कहाँ पर्यो नि अरुणाजीको ?”
प्रेस्क्रिप्सनमा हेर्दा उनको नाम थाहा भएको थियो ।
“मेरो घर पश्चिम गुल्मी तम्घास हो । बाबुआमा हुनुहुन्न, एक्लो दाजुको स्नेह पाएर त्यहीं पढ्दै थिएँ । दाजुले बिहे गरेपछि टाढा हुँदै जानुभयो । मलाई बस्न मन लागेन त्यहाँ । आमाले दिनुभएको पैसा र गहनाहरू लिएर काठमाडौंमा आएँ । यहीँको कलेजबाट डिप्लोमा गर्दै छु । बिहान क्याम्पस, दिउँसो बोर्डिङ स्कुलमा पढाउँछु । पत्रिकामा स्तम्भ लेख्छु । साहित्यमा रुचि छ । कथा, कविता कोर्छु, मेरो परिचय यही हो डाक्टर ! यो शहरको भीडमा आफ्नो छुट्टै पहिचानको लागि सङ्घर्षरत छु । यो सब प्राप्त गर्न स्वस्थ्य नै चाहिँदो रहेछ । त्यसैले म स्वस्थ बाँच्न चाहन्छु डाक्टर, मेरा भविष्यका धेरै योजनाहरू छन्- सपनाहरू छन् ।”
तिमीले मुस्कुराउँदै आफ्नो परिचय दिएकी थियौ । मभित्र भावनात्मक संवेगहरू उर्लंदै आएका थिए- तिम्रा जीवनका चाहनाहरू सुनेर ।
आश्वासन दिंदै भनें, “सब कुरा ठीक हुन्छ । नहड्बडाउनुस् । तपाईं स्वयम् चेतनशील लेखक हुनुहुन्छ । यो जीवन जगत् सङ्घर्षको मैदान होइन र ? बाँच्नलाई हरेक कुराहरूसँग सङ्घर्ष गर्नुपर्छ नै । ममाथि विश्वास गर्नुस् । ल भन्नुस् तपाईंलाई के के हुन्छ ?”
“मलाई माथिल्लो पेट दुख्छ । खाए पनि नखाए पनि दुख्छ । खान पनि त्यति मन लाग्दैन । बेला बेलामा बान्ता पनि हुन्छ । कहिलेकाहीँ कालो दिशा पनि हुने गर्छ । खान नसकेपछि कमजोरी हुने नै भयो ।”
तिमीले आफ्नो रोगको लक्षण बताउँदा म शङ्काको काँसघारीभित्र पस्दै गएको थिएँ चिसिंदै चिसिंदै । मनमनै प्रार्थना गरें – यस्ती सुन्दरी र निर्भिक युवतीको सपना नजलोस् । उनको बाँच्नुको दृढ चाहनामा नपरोस् । भयानक रोगको रौद्ररूप नदेखियोस् । किनभने तिमीले भनेका रोगका लक्षणहरूले राम्रो सङ्केत दिएका थिएनन् । विस्तारै सोधें, “आजभोलि के औषधी लिनुभएको छ ?”
मेरो स्वरमा निराशाको गन्ध थियो ।
“एन्टासिड लिएकी छु ।”
तिमीलाई राम्ररी जाँचिसकेपछि सान्त्वना दिंदै भनें, “तुरुन्तै पेटको एन्डोस्कोपी गरेर ल्याउनुस् । ब्लड, युरिनको रिर्पोट पनि । त्यसपछि औषधि लेखिदिनेछु । अहिलेलाई यही औषधि चलाइरहनुस् । सबभन्दा ठूलो कुरा तपाईंले आफूभित्रको निर्भयता र आत्मबलको शक्तिलाई सुकाउनु भएन ।”
“ओ… हो । यत्रो ठूलो शहरमा गाउँकी एउटी साधारण केटीले आफ्नो पहिचान बनाउन, यहाँ स्थापित हुन कति सङ्घर्ष र मेहनत गरें हुँला । मेरो आत्मबल नै मेरो शक्ति हो- मेरो सहयात्री हो । जस्तोसुकै रोग लागोस् मलाई भन्न डराउन पर्दैन डाक्टर । बाँच्ने इच्छा पो मैले बताएकी हुँ । एकदिन मर्नैपर्ने यो शरीरले मृत्युलाई जुनबेला पनि स्वीकार्नुपर्छ ।”
यसरी तिमीले मेरो हृदयमा आफ्नो अनौठो व्यक्तित्वको छाप छोडेर गयौ । आत्मविश्वासको स्तम्भ गाडेर गयौ । जीवनप्रतिको उत्कट प्रेम, आत्मीय भाव, तिमीभित्र भरिभरि पाएँ । एक प्रकारको आकर्षण तिमीप्रति मभित्र पलाएको थियो ।
भोलिपल्ट तिम्रो प्रतीक्षा गर्दै थिएँ अधैर्यपूर्वक । कैयन रोगीहरूलाई जाँच्दा पनि म थाकेको थिइनँ । तिम्रो रिपोर्ट हेर्न म अत्यन्त आतुर थिएँ । भित्रैदेखि कामना गर्दै थिएँ कुनै खराब रिपोर्ट नआओस् ।
आखिर तिमी आयौ, उदास-उदास थकित अनुहारमा एउटा परम विश्वास चलमलाइरहेको थियो ।
तिमी मुस्कुराउँदै कुर्सीमा बस्यौ – आहा ! कति सुन्दर थियो तिम्रो मोहक मुस्कान ! एकछिन तिम्रो मुस्कानको लहरमा मिसियो मेरो मनको लहर पनि । तिमीले मेरो हातमा आफ्ना रिपोर्टहरू राखिदिंदा पो झस्किएँ ।
“डाक्टर ! मैले रिपोर्ट हेरेकी छैन । तपाईंबाटै मेरो रोगबारे सुन्न चाहन्छु ।”
तिम्रा रिपोर्टहरू हेर्दै गएपछि मेरा आँखा र मन पनि भाँसिदै गए । रिपोर्टमा ग्यास्ट्रिक क्यान्सर शङ्का गरिएको थियो । एकछिन निःशब्द भएँ । समयको प्रवाह कोठामै रोकिएझैँ भयो । म आफूलाई सम्हाल्दै हेरें तिम्रो त्यो सुन्दर र प्रतीक्षारत जिज्ञासु अनुहारलाई । तिमी कति उत्सुक थियौ आफ्नो रोगबारे जान्न । अलिकति पनि डर थिएन । म कसरी तिम्रो मृत्यु तिमीसमक्ष ठिङ्ग उभिएको छ भनेर सूचना दिऊँ ? म तिम्रो विश्वासको मण्डपलाई कसरी भत्काऊँ ? तिम्रो वास्तविक रोग बताएर तिम्रो हृदयलाई आघात पार्न चाहन्नथें । तिम्रो ओठमा तैरिरहेको उज्ज्वल मुस्कानलाई एकान्त बनाउन मेरो मनले चाहेको थिएन । म आफ्नो डक्टरी अध्ययनको सम्पूर्ण शक्ति लगाएर तिम्रो चाहनाको दियोमा तेल थप्ने उपाय खोज्न थालें । यो पनि इच्छा थिएन, झुठो कुरा गरेर तिमीलाई भ्रममा राख्न । सोचें तिम्रो रोगको बारे तिमीलाई बताइदिनुपर्छ । मलाई विश्वास थियो तिमी समझदार छौ ।
मैले साहस गरेर भनें, “अरुणाजी ! हुन त कहिलेकाहीँ रिपोर्ट गलत हुनसक्छ । म तपाईंलाई सत्य कुरा भन्छु । तपाईंलाई ग्यास्ट्रिक क्यान्सर भएको रिपोर्ट छ – अपरेशन गरेपछि थाहा हुन्छ । अपरेशन गर्न तयार हुनुहुन्छ तपाईं ? म तपाईंको आफ्नो पूरा शक्ति लगाएर औषधि गर्नेछु । यो बुझ्नुस् यो संसार युद्ध मैदान हो हार पनि हुन्छ जीत पनि हुन्छ ।”
जब म तिम्रो रोगबारे बताइरहेको थिएँ, मेरो काँतर दृष्टि कहीँकतै थियो- कोठाको भित्तामा, टेबलमा र अन्य ठाउँमा ।
तिमीले भने मौन र शान्त भावमा अपलक मलाई हेरिरहेकी थियौ । एक थोपा त्रासदीपूर्ण भाव थिएन- एउटा स्थिर, गम्भीर र निरपेक्ष भाव थियो तिमीमा । म उठेर तिम्रो नजिक गएँ र तिम्रो कुममा थपथपाउँदै भनें, “अरुणाजी ! तपाईं त निडर स्वास्नीमान्छे । परिस्थितिलाई बुझ्ने कोशिश गर्नुस् । रिल्याक्स हुनुस् । हिम्मत नहार्नुस् । यो हप्ताभरि तपाईंको अपरेशनको व्यवस्था गर्नेछु ।” बोल्दाबोल्दै मेरो आवाज मधुरो हुँदै गयो सोचें- म डाक्टर हुँ म भावुक बन्न हुँदैन । भावुक हुनु डाक्टरको धर्म होइन ।
तैपनि लाग्यो के म तिम्रो लागि भगवान् बन्न सकुँला ? के म साँच्ची नै तिमीलाई पुनर्जीवन दिन सकुँला ?
तिमीले मेरो हात समात्दै भन्यौ, “डाक्टर ! म निडर छु । मलाई थाहा छ । तपाईंमाथि विश्वास छ मलाई ।”
अपरेशनको कोठामा सान्त्वना दिन तिम्रो बेडनिर गएर तिम्रो कपालमा सुमसुम्याउन थालें ।
तिम्रो दुवै हात समात्दै भनें, “गड ब्लेस यू, डन्ट ओरी अरुणा ।”
अपरेशनको बेला तिमीमा अभूतपूर्व संयम थियो तर म भने असंयमित भएको थिएँ । लाग्यो – रोग कतै अन्य ठाउँमा सरेको त छैन ? अपरेशनको सिलसिलामा जे पनि दुर्घटना हुनसक्छ । अपरेशनको सफलता त भगवान्को हातमा छ, मेरो हातमा छैन । तैपनि तिमीलाई बेहोस गराएपछि अत्यन्त सजग र सतर्क भएर अपरेशन गरें तर दुर्भाग्य ! क्यान्सरले त्रासदीपूर्ण तरीकाले अरू ठाउँमा पनि अतिक्रमण गरिसकेको रहेछ । तिम्रो मप्रतिको विश्वास र तिम्रो बाँच्ने प्रबल चाहना सबै धुजाधुजा भयो ।
जुन डर ममा थियो- त्यही भइदियो ।
म नर्भस भएँ- निरास भएँ ।
हुन त मैले आफ्नो सीप, दक्षता इमान्दारितापूर्वक प्रयोग गरेको थिएँ । खै कहाँ त्रुटि भयो, तिमी होसमा आइनौ । बेहोसीमै तिमीभित्रका सारा रहरलाग्दा जिउँदा इच्छाहरू मृत्युले एकैपटक निलिदियो । एक प्रकारले म पराजित भएँ । तर तिम्रो जीत भयो, यो सत्य हो तिमीलाई निको नहुने रोग लागेको थियो । क्यान्सरको पीडा कस्तो असह्य हुन्छ त्यो कुरा क्यान्सर रोगीलाई थाहा हुन्छ । बेहोसीमै मर्यौ । क्यान्सरको अन्तिम दर्दनाक पीडाबाट मुक्त भयौ । यस अर्थमा मलाई सन्तोष पनि भयो । होसमा आइनौ तिमी- मेरो लागि यो कति ठूलो मर्मान्तक पीडा थियो । तिम्रो ब्याग हेर्दा त्यहाँ डायरी थियो । त्यसभित्र तिम्रा चार-पाँचवटा सुन्दर फोटाहरू थिए ।
स्कूल र साथीका फोन नम्बरहरू थिए । तिम्रा यतिका साथीहरू रहेछन्- किन तिमी एक्लै अपरेशन गर्न आयौ ? तिम्रो अन्तिम संस्कार स्कूलका शिक्षक र साथीहरू आएर गरिदिए । उनीहरूबाट थाहा पाएँ तिमी अत्यन्त स्वाभिमानी र कसैलाई दुःख नदिने युवती रहिछ्यौ ।
मलाई लाग्यो- म स्वयम्ले तिम्रो समवेदना दिनुपर्छ । समवेदनाका केही हरफहरू लेखेर तिम्रो फोटो सहित कान्तिपुरमा दिन गएँ । लाग्यो, यो मेरो तिमीप्रति अन्तिम कर्तव्य निर्वाह गर्दै छु ।
तिम्रो फोटोमाथि र मैले लेखेको समवेदनामाथि दुई थोपा आँसु झर्यो । लाग्यो-तिम्रो फोटोले भन्दै थियो, “डाक्टर ! म बाँच्न चाहन्छु, म बाँच्न चाहन्छु । तिमीले किन बचाएनौ डाक्टर ?” म आफ्नै झूठा आश्वासन र आफ्नो पेसाबाट कति नराम्रोसँग हारेको थिएँ । मेरो कान र मनभरि गुन्जिरहे यी शब्दहरू । हत्तपत्त पत्रिका बन्द गरेर अस्पताल जाने तयारी गर्न थालें ।
(‘नेपालका नारी कथाकार : प्रवृत्ति र प्रतिनिधि कथा’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ असार २०८३, शनिबार 










