समीक्षाको बजारमा अति प्रशंसा गर्ने, अति निन्दा गर्ने र सन्तुलित गर्ने गरी तीन खालका समीक्षक देखिएका छन् । देविका भने प्रारम्भमा प्रभाववादी तथा विश्लेषणात्मक लेखनतिर अग्रसर भएर पछिल्तिर विवेचनात्मक लेखनतिर अघि बढेकी छन् ।
—-
समीक्षा के का लागि लेखिन्छ र किन लेखिन्छ ? भन्ने प्रश्न आफैँमा प्रश्न मात्र होइन यो त एउटा बहस पनि हो ।
अर्को तरीकाले यस्तो पनि लाग्छ– ‘यो त पुस्तकको शल्यक्रिया हो र पुस्तकप्रति पाठकको उत्सुकता जगाउन लेखिन्छ ।’
कुनै पनि समीक्षाले रस, सार र रङ यी तीन वटा अवयव बोकेको हुनुपर्छ । यी तीन वटा तत्वज्ञान भएर समीक्षा लेख्दा ती समीक्षा बन्न र विश्वसनीय हुन सक्छन् ।

काव्यपेक्षण
समीक्षक देविका मङ्ग्राती राईको काव्यप्रेक्षण (२०२४) पहिलो समीक्षासंग्रह हो । देविकाले अखिल भारतीय अनुसूचित जाति-जनजाति सङ्घको स्मारिकामा दोष कसको ? (२००२) शीर्षकको कथा प्रकाशन गरेर साहित्य प्रवेश गरेकी स्रष्टा हुन् । उनका चौतारी (२०१९, संयुक्त कवितासंग्रह), फागनु ! तिमी फर्किआउनू (२०२१, कवितासंग्रह), नवीन मुना (२०२२, संयुक्त मुक्तकसंग्रह) प्रकाशित भइसकेका छन् ।
समीक्षक देविका मङ्ग्राती राईको काव्यप्रेक्षणमा १६ वटा समीक्षा रहेका छन् । सन् १९१९ अप्रिल २६ शनिवारका दिन सिक्किममा जन्मिएका शिवकुमार राईद्वारा लिखित सन् १९५७ मा प्रकाशित उपन्यास डाकबङ्गला हो । ‘शिवकुमार राईको उपन्यास डाकबङ्गलाभित्र रुमलिहेर्दा’ मा डाकबङ्गला र रूपनारायण सिंहको भ्रमरमाथि तुलनात्मक अध्ययन गरिएको छ । तुलनात्मक अध्ययनबिनै समीक्षा लेखिँदा कमजोर हुने हुनाले देविकाले त्यस्तो हुन दिएकी छैनन् ।
डा.लक्खीदेवीको सम्भावित अर्थ समर्पित एकान्त (२०००) कवितासंग्रह हो । यसमा ३५ वटा कविता रहेका छन् । समीक्षक देविका मङ्ग्राती राईले ‘डा.लक्खीदेवीको सम्भावित अर्थलाई बुझ्ने प्रयास’ समीक्षामा जातीयता, भाषा, साहित्य, जाति, संस्कृति, माटो, राजनीतिक भावले ओतप्रोत भावहरू रहेका छन् भनेर प्रशंसा गरेकी छन् । समीक्षकमा अध्ययन गर्ने बानी भएन भने समीक्षा विश्वसनीय हुन सक्दैनन् । समीक्षक देविकाका समीक्षा यसका इतर रहेका छन् । उनका समीक्षामा अध्ययनको रन्को पाइन्छ ।
स्रष्टा हस्त नेचाली भारतीय नेपाली साहित्यमा इन्द्रबहादुर राई, कृष्णसिंह मोक्तान, आर.पी. लामा, डा. गोकुल सिन्हा, लक्ष्मण श्रीमल लगायतका स्रष्टासँग एउटै लहरमा उभ्याउन मिल्ने द्रष्टासमेत हुन् । उनको घामछायाँको जिन्दगीमा (२०१९) संस्मरणात्मक कृतिमाथिको प्रशंसापरक समीक्षा ‘हस्त नेचालीकृत घामछायाँको जिन्दगीमाथि’ शीर्षकमा गरिएको छ । स्रष्टा एवम् सम्पादक के. बी. नेपालीको जन्म १९३७ नोभेम्बर १६ मा मुलियाबारी, डिग्बोईमा भएको थियो । उनको अनुराग (१९८३) गीतसंग्रह प्रकाशित छ । यसै कृतिको समीक्षा ‘अनुरागमा के. बी. नेपाली’ मा रहेको छ ।
असीत राईद्वारा लिखित नाटक मेरो भारत महान् (२००९) हो । यसै नाट्यकृति माथिको समीक्षा ‘असीत राई अनि उनको नाटक मेरो भारत महान्’ रहेको छ । यस समीक्षामा नाटक देशभक्ति पूर्ण रहेको निष्कर्ष निकालिएको छ ।
कवि सावित्री सुन्दासको १९९६ मा प्रकाशित कवितासंग्रह हो इच्छाको अवशेष । यसमा ८० वटा कविता रहेका छन् । यसै कृतिमाथि देविकाको दृष्टि ‘सावित्री सुन्दास अनि उनको इच्छाको अवशेष’ रहेको छ । त्यसैगरी भारतीय नेपाली साहित्यको श्रीवृद्धिमा ६ दशक बिताइसकेका स्रष्टा हुन् डा. गोकुल सिन्हा । उनको बाह्र बटुलो (२०२३) लेखसंग्रह हो । यसमा बाह्र वटा लेख रहेका छन् । यसै कृतिको समीक्षा ‘डा.गोकुल सिन्हाकृत बाह्र बटुलो एक अवलोकन’ रहेको छ ।
सन् १९४३ मा जन्मिएको स्रष्टा हुन् लक्ष्मण श्रीमल । उनको म अमूर्त परिवेश हिँडिरहेछु (२०१२) कवितासंग्रह हो । ‘अमूर्त परिवेशमा लक्ष्मण श्रीमल’ शीर्षकको समीक्षामा समीक्षक देविका मङ्ग्राती राईले उपदेशात्मक र चेतनामूलक भावका कविता रहेको निष्कर्ष निकालेकी छन् ।
देविकाको यस समीक्षासंग्रहमा ‘एम.पथिकलाई पन्नापन्ना र अक्षरहरूमा खोज्दा’ अर्को समीक्षा रहेको छ । कवि एम.पथिकको पन्नापन्ना र अक्षरहरू (१९९८) कवितासंग्रह हो । यसमा ४९ वटा कविता रहेका छन् । यिनै कवितामाथिको समीक्षा यसमा रहेको छ ।
दार्जीलिङको नेपाली साहित्यका सन्दर्भमा सत्तरीको दशकका चर्चित कवि हुन् कवि मदन ओझा । उनको आँसुपछिका आँखाहरूले हेर्दा (२०१०) कवितासंग्रह हो । यसमा ३९ वटा कविता रहेका छन् । कवितामा पुर्खाले सम्हालेका रीतिथितिको संरक्षण गरौँ, जाति र सन्ततिको भविष्यको चिन्ता गरौँ भन्ने उपदेशात्मक कविताहरू रहेको निष्कर्ष समीक्षक देविकाले ‘मदन ओझाको आँसुपछिका आँखाहरूले हेर्दा’ मा निकालेकी छन् । यसरी यस कृतिका समीक्षा हेर्दा देविकाले कृतिगत आधारभन्दा प्रभावगत कुरालाई अघि सारेको देखिन्छ ।
कवि उदय सुब्बा गोर्खाको बदनाम (२०२१) कवितासंग्रह हो । यसमा ३७ वटा कविता रहेका छन् । कवितामा जातीय अस्मिताको भाव बाहुल्य रूपमा आएको ‘उदय सुब्बा गोर्खाको बदनाम कविता’ निष्कर्ष समीक्षक देविका मङ्ग्रातीले निकालेकी छन् । कवि जयदीप सुब्बाको बुढो घामको ताप (२०२१) कवितासंग्रह हो । यसमा ७१ वटा कविता रहेका छन् । कविले यी कवितामा दमित समाजको सुस्केरा, पीडा र उच्छ्वासलाई उभ्याउने कोशिश गरेका छन् ।
समीक्षक देविकाले ‘बुढो घामको तापमा जयदीप सुब्बा’ मा विभिन्न विषयका उत्कृष्ट कविताहरू रहेको उल्लेख गरेकी छन् । गीतकार बालकृष्ण थामीको कसको माया कसको मोह (२०२१) गीतसंग्रह हो । यसमा ९४ वटा गीत रहेका छन् । समीक्षक देविकाले ‘कसको माया कसको मोहमा बालकृष्ण थामी’ मा थामीका शब्द सजीव छन् । शब्दहरू सङ्गीत र गायनका पङ्खद्वारा माथि उडान भर्न सफल भएको निष्कर्ष निकालेकी छन् ।
कवि मणि खवासको सन्ताप (२०२१) कवितासंग्रह हो । यसमा २० वटा कविता रहेका छन् । देविकाले ‘मणि खवासको सन्ताप मनभरि’ मा जीवनका वास्तविकताका भावनाहरू अन्याय, अत्याचार, हेपाइ लगायत सबै जीवनमा भोगेका भावहरू कवितामा समेटेको उल्लेख गरेकी छन् ।
स्रष्टा हेमचन्द्र तामाङ १९६१ मा जन्मिएका द्रष्टासमेत हुन् । उनको २३ वर्षको उमेरमा नै निधन भएको थियो । कलिलै उमेरमा भाषा, संस्कृति, जातित्व, अस्तित्व, समानता, अधिकार सबै बुझेका हेमचन्द्रको फुटकर लेखन र कविता माथिको विश्लेषणात्मक दृष्टि ‘प्रतिभाशाली हेमचन्द्र तामाङलाई बुझ्ने प्रयास’ मा रहेको छ ।
स्रष्टा रोहित गौतमको अग्निस्नान (२००२) उपन्यास हो । यसको कथापट असमको गोवालपाडा जिल्लाको कदमतली भनिने विभिन्न जनगोष्ठीको मिश्रित स्थान रहेको छ । यो उपन्यास सामाजिक सँगसँगै सांस्कृतिक, शैक्षिक, दैनिक जीवन वर्णित उपन्यास रहेको समीक्षक देविकाले ‘रोहित गौतमको उपन्यास ‘अग्निस्नान’ मा उल्लेख गरेकी छन् । समीक्षा पढ्दै जाँदा पाठकले लेखक सहनशील हुन सकेन भने कृतिको वास्तविक समीक्षा नहुन सक्छ भन्ने भनाइप्रति देविका सचेत भएको पाउन सक्छन् ।
समीक्षक देविका मङ्गाती राईको काव्यप्रेक्षण भित्रका समीक्षाहरूमा सिद्धान्त र इतिहास प्रसङ्गहरू पनि आएका छन् । यसका साथै कृतिभित्र पाउँछौं, उठीबास, त्यहीं, चैं (पृ. ३८), दुइ (पृ. ४१), जागरूक (पृ. ४३), हाँस्दैछौं (पृ. ४५), चिनौं, होइनौं (पृ. ४८) लगायतका शब्दमा हिज्जे र चिन्ह प्रयोगमा समस्या रहेका छन् । त्यसै गरी ‘हस्त नेचालीकृत घामछायाँको जिन्दगीमा (पृ. ४९) समीक्षामा.. धन्य हुन् हस्त नेचाली सर । नमन उहाँको परिश्रमप्रति (पृ. ५४)…स्मरणीय तथ्यहरू उतारेका छन् (पृ. ५५),….हस्त नेचाली भारतीय नेपाली साहित्य आकाशमा सदैव एक उज्ज्वल नक्षत्र बनेर चम्किरहनेछन् (पृ. ५६) । लगायतका वाक्यहरूमा स्रष्टालाई कतै उनी त कतै उहाँ प्रयोग गरिएको पाइन्छ ।
त्यस्तै अनुरागमा के.बी. नेपाली शीर्षकको समीक्षामा पनि…उनका प्रकाशित कृतिहरू हुन् ।…फलदार वृक्ष हुन् उनी (पृ. ५७) ।…उहाँका प्रकाशित ग्रन्थहरूका नामहरू दिइएको छ (पृ. ५८) । असीत राई अनि उनको नाटक मेरो भारत महान् (पृ. ६५), नाटककार आफ्नो जातिमाथि यसो भन्नुहुन्छ… (पृ. ६६)…लगायतका अन्य समीक्षामा पनि वाक्यहरूमा स्रष्टालाई कतै उनी त कतै उहाँ प्रयोग गरिएको पाइन्छ । यसरी हेर्दा वाक्य गठनका क्रममा कर्ताअनुसार आदरार्थी क्रियापदको प्रयोगमा समीक्षकले सचेतता अपनाउन सकेको भए समीक्षाहरू भाषिक रूपले मजबूत हुने थिए ।
समीक्षाको बजारमा अति प्रशंसा गर्ने, अति निन्दा गर्ने र सन्तुलित गर्ने गरी तीन खालका समीक्षक देखिएका छन् । यस कृतिका समीक्षा हेर्दा पहिलो वर्गमा देविका पर्छिन् । प्रारम्भमा प्रभाववादी तथा विश्लेषणात्मक लेखनतिर अग्रसर भएर पछिल्तिर विवेचनात्मक लेखनतिर अघि बढेकी समीक्षक देविकाको काव्यप्रेक्षण समीक्षासंग्रह समीक्षात्मक चिन्तन र समयको कलेवरको रूपमा रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ असार २०८३, शनिबार 










