धेरै भएको छैन
हत्केलामै खसोस् भनेको आमाको सपना
बालुवा खानीमा खसेको
धेरै भएको छैन,
आमाको हृदय–गीत फेरिएको ।

सपना सामान्य थियो—
सानो छोरो ठूलो हुनेछ
र, आमालाई आमा बनाउने छ ।

छोरो ठूलो भयो र आमालाई एक्लो बनायो ।

घरमा को भोकाएको छ, को अघाएको छ ?
घरमा कुन भाँडो रित्तो छ, कुन भरी छ ?
कुन बोट काट्ने बेला भयो, के गोड्ने बेला भयो ?
यी सबै सबै गीत कण्ठस्थै आउँछन् आमाको गलामा
तर आँखामा उही पुरानो गीत दोहोरिन्छ पटक पटक
सपना हत्केलामा झरेको
जूनतारा पोल्टाभरि खसेको ।

पहिले उनको गीत सजिलो थियो,
भाका मिठो थियो
गाउनु पर्ने धेरै थिएन, अघाउनु पर्ने धेरै थिएन्
साठी कटेपछि आमाले सोच्दै नसोचेको गीत गाउनु पर्यो ।

अक्षर नचिन्ने आमा
फेसबुकमा छोरो खोज्न थालिन्
म्यासेन्जरमा हरियो टिको लागेपछि
छोरो गफिन्छ, आमालाई कसैले सिकाउनु परेन ।

लोग्नेले बैंसमै छाडेर गए
छोरो हेरेर श्रीमान् बिर्सन सिक्दै थिइन्
छोरो पनि दूरदेशको सम्झना मात्रै बनेपछि
तस्बिर मात्रै छन् उनीसँग
आफ्नैको भए पनि तस्बिर आफ्नु नहुँदो रहेछ ।

सबै हुँदा के पकाउनु पर्छ, कसरी अघाउनु पर्छ ?
जान्दथिन्,
तर जानिनन् जीवनको गीत
कसरी गाएपछि सारङी बजाउनु पर्छ,
कसरी गाएपछि बाँसुरी बजाउनु पर्छ
अँ, पटक्कै जानिन् आमाले
आफ्नै धडकन टाढिएपछि
कसरी गाउने हृदयको गीत
कसरी भर्ने सास सासमा सङ्गीत ।

तातो पानी र औषधी दिनु पर्ने बेलामा
गुलियो र तागतिलो दिनु पर्ने बेलामा
छोरो आकाशको इन्द्रेणी बिनिदियो
र त आमा झुक्किन्छिन बेला बेला
उनका हात स्वतः पस्कन्छन्
खाली थाल र कचौरामा पनि परिकार
र पर्खिबस्छन् अस्ताइगएको एउटा घामको बाटो
अविरल…

बिहानै एकोहोरो शंख घण्ट बजाउँछिन्
झस्किँछन् , एक्लै कराउँछिन्,
पारी कोही आउँदा छोरो भन्छिन्, रमाउछिन्
कहिलेकाहीँ जीवनको लय पनि हराउछिन् ।

उमेर छँदा छोराको भरोसा गरिन्
उमेर ढल्केपछि भगवान्को भरोसा गरिन्
आमाले जीवनका कुनै गीतमा
न छोरामाथि अन्याय गरिन्,
न भगवान् माथि अन्याय गरिन्
तर, किन आमाको गीतमा आँसु मात्र छ ?

आमा फत्रक्कै ओइलाइन्,
तर भराेसा ताजै छ
पर्खेर बसेकी छिन्,
उनकाे सपना एकदिन फेरि हत्केलामै खस्नेछ

काेही छ अरब जाने ?
अन्तिमपल्ट छाेराकाे अनुहार हेर्न
गाउँमा बुढीआमा
सासकाे माला जपेर सुमेरु पर्खेर बसेकी छिन्, भनिदिनू !