मलाई जन्ती र मलामी जान खासै मन पर्दैन । जन्तीमा मान्छेहरूले देखाउने देखावटी खुसी मन पर्दैन र मलामीमा देखिने देखावटी पीडा मलाइ मन पर्दैन । मलाई मेरा बा पहिले पहिले जन्ती होस् या मलामी,फोन गरेर जसरी पनि जा भनेर भन्ने गर्नु हुन्थ्यो, अहिले सबैकोमा जसरी पनि जा भन्नू हुन्न । बाले थाहा पाइसक्नु भयो कि म साँचै भित्र देखि खुसी हुन सक्ने जन्ती र एकदम दुखी हुन सक्ने मलामी जान्छु । जसले गर्दा मैले झुटा आँसु र झुटा हाँसो देख्नु नपर्ने वा देखाउनु नपर्ने हुन्छ । त्यसो भन्दै गर्दा पनि मेरो प्राथमिकतामा जन्ती भन्दा मलामी अलि बढी पर्छ ।
एक वैशाखे बिहान मेरो भान्साकोठा बाहिर आइरहने, टर्रो भाका हालेर कराइरहने लोखर्के आएन । मैले स्पिकरमा गाना बझाएँ, गानाकै तालमा आफ्नै लयमा गाएँ, आफ्नै पारामा जिउ हल्लाएँ । मलाई सानैदेखि झन्डै झन्डै गाउन आउँछ र झन्डै झन्डै नाच्न पनि आउँछ । ती झन्डै झन्डै आउने कलामा टन्नै टन्नै मेहनत गरेको भए म खतरै कलाकार हुने थिएँ भन्ने आज पनि लाउँछ ।
चार स्याई स्याई सिठ्ठी लागेपछि दाल पाक्यो, एकै स्याई सिठ्ठी लगेपछि भात पाक्यो, तरकारी काटिसकेँ, त्यो खैरो सेतो लोखर्के देखा परेन । जम्मा छ देखि दस वर्ष आयु हुने त्यो साइबेरिएन चिपमन्क जातको लोखर्के के मर्यो ? कि अन्तै बसाइ सर्यो ? खै के गर्यो तर तरकारी पाकिसक्दा पनि देखा परेन । म भने टुप्लुक्क टुपुल्कियोस् भन्ने आस मारिनँ । मैले खाना खाएँ, चुठे, भाँडा मस्काउनै लागेको थिएँ एक्कासि गाना रोकियो । मोबाइल हेरेँ। बाको फोन थियो, उठाएँ ।
“ए बाबु ती ठुला व्यापारी बितेछन्, पशुपति लाँदै छन् रे जा है !” बाले एक्कै स्वरमा भन्नुभयो ।
“अब मलामी जाने जस्तो कुरा भनिहाल्नु भो, म जान्छु ।”
म लखर लखर गर्दै पशुपति पुगेँ ।
व्यापारी बुढाका मलामीमा सबै सुकिला-मुकिला मान्छेको वर्चस्व थियो । बुढाको लास ब्रह्मनालमा लम्पसार थियो । मलामीहरू उनको बारेमा गाइँगाइँ गुइँगुइँ गर्दै थिए ।
“यी दुई भाइ छोराकै पानी बारा बार छ, सम्पत्तिकै कुरा नमिलेर मरा मार छ । यिनीहरू सँगै क्रिया पनि बस्दैनन् होला” ।
“त्यत्रो सम्पत्ति भएर पनि के गर्नु आखिर मर्नु नै त छ, उनी मरेको खबरले उनका व्यापारिक प्रतिस्पर्धी पक्का खुसी छन्, यी दुई भाइको झगडा तगडा छ ।”
मलामीमा देशका ठुला शक्तिमान भनिएका नेता, धनवान् व्यापारीहरू हतार हतार आए । चितामा राखिएको लासमा माल्यार्पण गरेको एक-दुई फोटो खिचाए र हतार हतार गए । मलामी भन्दा रमिते धेर देखिए ।
“पैसा भनेसि भुतुक्कै, लोभीका कन्सिरी थिए नि यिनी, बाउको सम्पत्ति पनि भाइलाई सुइँको सम्म नदिई सुइँक्याएका रे, ती भाइ यी दाजु मर्दा मलामीसम्म त आएनन् ।”
“भाइ मात्रै के ? त्यस्तो त कतिलाई डुबाए डुबाए यिनले”।
“ठिकै पनि लाग्यो मलाई त ५ वर्ष भइसकेको थियो थला परेका, गए आनन्दै भयो ।”
मलामे जमात जसको मलामी आएका उनकै कुरा काटेर अघाएका थिएनन् । एक एक ओटा फ्रुटि चुसिसकेसि मलामीको जमात बिस्तारै पातलियो ।
मैले मन मनै सोचेँ “यदि बुढाले कान सुन्न सक्थे भने उनका मलामीहरूले उनको बारे के यस्तै मात्र कुरा गरुन् भन्ने चाहन्थे होला ? पक्कै चाहँदैन थिए, सायद कसैले पनि चाहँदैन। मरिसकेको मान्छेको पनि कुरा काट्ने मलामेका कुराहरूले मलाई वैराग लाग्यो, चितामा जोड्ने आगो दन्कँदै थियो म आफ्नो बाटो लागेँ । कसैले पनि यस्ता मलामे नकमाउन् ।
दिन गयो बेलुका भयो, लोखर्के देखा परेन । एक्कासि हराएको लोखर्केको सम्झनामा कुनै दिन कथा लेख्ने सोच बनाएँ । बेलुका पख बाले फोन गर्नु भयो, उठाएँ ।
बा – बाबु गाइस् मलामी ?
म – मलामी त गए बा तर यस्तो नमज्जा कहिले नै लगेको थिएन, हुन त मलामी मजा लाग्न जाने ठाउँ त हैन तै नि
बा – के भयो र त्यस्तो ?
म – बुढाका मलामी आएका कसैको मुखमा उनको लागि राम्रो भन्ने कुरा थिएन, मरी नै सके पछि पनि किन उनको कुरा के काटेका होलान् ? बिचरा बुढाले जीवनभरि कमाउने काम टन्नै गेरेछन्, सहानुभूति कमाउने काम एउटै गरेनछन्।
बा – तिनी त्यस्तै नै थिए, अहङ्कारी स्वभावका तर हाम्रो परिवारलाई चाहिँ माया नै गर्थे। फेरि आजै दुर्गानन्द काका चिन्छस् नि ? हो उनी बिते र म उनको मलामी गएको थिएँ, मलामी गएका आँखामा आँसु नहुने एक जना थिएनन्, त पढेको म पढेको स्कुल उनैले दुनियाँ दुख गरेर बनाएका थिए, अस्ति भर्खर नै पनि एउटा स्वास्थ्य चौकीको लागि भनेर ३ रोपनी जग्गा त दान नै गरे, १० ओटा त किताब नै लेखे, उनको बा आमा को नाममा खोलेको फाउन्डेसनले २० जना त गरिबका बच्चा पढाएको रहेछ, अरू दान र सहयोग त कति गरेछन् गरेछन् । आज मलामीमा पो उनको झन् धेरै कुराहरू थाहा पाएँ ।”
म – अब तपाईँ पनि मलामी नै जानु भा म पनि, तर कत्ति फरक भोगाइ
बा – खै मैले कता हो पढेको थिएँ “बाचुन्जेल यो सोचेर कर्म गर कि तिम्रो मरेको शरीर घाटमा पुर्याइँदा तिमी तिम्रो मलामी आएका सबैका मुखका र मनका कुरा सुन्न सक्छौ भने के सुन्न चाहन्छौ ?” मलाइ दुर्गानन्द काकाले त्यही सोचेर बाचेछन् जस्तो लग्यो ।
म – त्यही त ! हुन त मलामी जानु भनेको मज्जा मान्ने विषय होइन तर तपाईंका कुरा सुन्दा कस्तो मज्जा लाग्यो, जीवन होस् त त्यस्तो होस् मरन होस त त्यस्तो ।
ठिक त्यति नै बेला मैले ची चिर्र… ची चिर्र… आवाज सुने ओ हो !
“ल बा मैले अहिले फोन राखेँ भनेर” फोन राखी हतारिँदै किचेन पुगेँ । ढोका खोलेँ । यता उति हेरे केही देखिनँ कोही देखिनँ । निराश हुँदै ढोका बन्द गरेँ । त्यस दिनदेखि त्यो सेतो खैरे लोखर्के फेरि मैले कहिले पनि देखिनँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० असार २०८३, मंगलवार 










