बस्, एक तमासले हेरिरहेछु
शाखाबाट छुटेको त्यो पहेँलो पात
कायाको साथ छोडेपछि आत्मा झड्कारिए जस्तो
त्यो पत्ताको वेग छ
पलभरमै फेरि ऊ नाच्छ फिरफिरे नाच हावामा
मुक्तिको हर्ष हो वा मृत्युको सन्ताप उसको
बुझ्न गाह्रो छ
फेरि धर्तीमा बज्रिनु अघि चाल उसको लुचुक लुचुक
मानौँ हाँस हिँड्दैछ सङ्गीसँग मस्त
अनि फेरि धर्तीमा टेक्छ उसले उसका निर्जीव पाइला
मानौँ स्वीकार्यो उसले वसन्त पत्झडको एक जीवनचक्र

मलाई उस्तै लाग्छ त्यो पात, मानिस जात र मेरो जीवनचक्र

जस्तो कि यौवनमा त्यो पात
साना भँगेरालाई आफ्ना छातीमा उभ्याउन सक्थ्यो
सूर्यको एक धर्सो किरणलाई
छेक्ने सामर्थ्य राख्थ्यो
असिनाले छातीमा पारेको प्वाल
ऊ समयको मलमले सजिलै पुर्न सक्थ्यो
पालुवामै ऊ खेप्न सक्थ्यो वेगवान् चैते हुरी
बालापनैमा उसले जुधेको हो साउने अविरल झरी
यौवनमा उसकै नजिक फुल्थे यौवन सुशोभित फूल
उसको त्यो स्वर्णिम इतिहास
अब कि पतिङ्गर बन्छ कि त बन्छ माटो
जस्तो कि मान्छे कि बन्छ माटो कि बन्छ खरानी

मान्छे जस्तै पात
पहेँलिएर धर्तीमा पुग्ने गरी लेखिएको मृत्युले उसलाई बेर्नुअघि
ऊ पालुवा बाल्यकाल
हरियो यौवन र
पहेँलो बुढेसकाल जिउँछ
आफ्नी जननी वृक्षको स्तनधाराले सिँचुन्जेल
शिशिर आउनेबित्तिकै उखेलिँदैन पत्ताको जड
हर मान्छेले अलग अलग आयु बाँचेजस्तै
हर पत्ताले अलग अलग आयु जिउँछ

यस्तो लाग्छ भुईँमा लमतन्न त्यो पत्ता
प्रस्थानको संघार तरेर
तुलसी मठमा स्वासको घिडघिडो फुटाएर
एक चोक्टा आँगन ओगटेको देह हो
र वृक्षका शाखामा उसको समवय
उसको प्रस्थानको शोक मनाइरहेका छन्
जस्तो कि तुलसीमठ घेरी मान्छेको सम्बन्धहरू
केही स्वाङको केही दर्दको केही औपचारिकताको शोक मनाउँछन्

मभित्र अप्रमाणित बुद्धचेत बोल्छ
भन्न मन लाग्छ बिचरा त्यो पातलाई
कि एक वृक्ष एक ब्रम्हाण्ड र अरबौँ अरब गर्भाशय सरी हो

र ऊ फेर्दै गर्भाशय सदियौँदेखि यहीँ छ प्रकृतिको स्मृतिमा
एक वसन्तको आयु लिएर पत्ता र
एक शताब्दी आयु लिएर आएको मान्छे
बस एक चक्र भोग्छन्
फुत्त झर्छन्, फेरि फुल्छन् अनि फेरि झर्छन्

अहिले मेरो हातमा त्यही पात छ
मेरा आँखा त्यसका पहेँल्पुर त्वचाभित्र बचेका
केही हरिया धर्सा माथि छन्
म सोच्दछु कि
यही बाँकी हरिया धर्साको बलमा पातले शाखामा अडिन
कत्रो प्रयत्न गर्‍यो होला
जस्तो कि मान्छेले गर्छ सासको जगेर्ना अन्तिम पलसम्म

मलाई मान्छे र पात उस्तै लाग्छ

हत्केलाको पात हेर्दै गर्दा मनमा प्रश्न उब्जिन्छ
के पातले बुझेको होला त जीवन
एक समय चोक्टा नभई निरन्तरता हो
पुनर्जन्ममा मान्छे जसरी विस्मृत हुन्छ पूर्वजन्मबारे
यो पात त्यस्तै स्मृति गुमाएको एक देह हो

मा सोचिरहेछु प्रकृतिको आलोपालो र रूपान्तरण
यो पात मानव बनेर चोला फेर्न सक्ला कि नसक्ला
अर्को जुनी मा म पात बनुँला कि मात्र मेरो सोचको भ्रम
बगरे खसी अनि खसी बगरे बन्न सक्ला कि नसक्ला
राजा रैती अनि रैती राजा बन्ला कि नबन्ला

सोचको यो भुङ्ग्रोमा पिल्सिरहेको त्यस क्षण
जोरको एक हावाको बेगले चोइट्याइदियो
शाखाबाट केही पहेँला अनि
नियति लेखिएका केही हरिया पातहरू

तत्क्षण पूर्व दिशामा बजेको शङ्ख ध्वनिले
मेरो एकाग्रता कुल्चिदियो
देख्छु मलामीहरूको एक लस्कर र एक शव
घाटलाई ताकेर लम्किरहेछ
कुन वृक्षको पात होला शाखाबाट चुँडिएछ

मलाई मान्छे र पात उस्तै लाग्छ

साँझ अर्धाङ्गिनीले सुनाइन्
छिमेकी भाउजूले नानी पाइन्
छोरीले बारेमा फूल रोपिन्
निरन्तरता निरन्तरता भनी हर्षित हुँदै
बिछ्यौनामा पल्टिएथेँ
सूर्यको किरण धर्तीमा पदार्पण हुँदा
म बनिसकेको थिएँ छोरीले सारेको बिरुवाको एक पात
र त्यो पहेँलो पात बनिसकेको थियो छिमेकी भाउजूको मुटुको टुक्रा ।

हेटौँडा