गोपालकुमार बस्नेतकृत “आफ्नै सेरोफेरोभित्र” पुस्तक हात पर्छ । यो पुस्तक धेरै अघिदेखि पढ्न खोजेर पनि पढ्न पाएको हुँदैन । कारण के रहेछ भने यो किताब बिक्रीकालागि राखिएकै रहेनछ । स्रष्टाले जीवनका अतीतका क्षणहरू समेटेर पुस्तकाकार दिनुभएको रहेछ । आफ्ना निकटस्थ र जान पहिचानका व्यक्तिहरूलाई मात्र व्यक्तिगत सम्पर्कबाट बाँढ्नुभएको रहेछ । त्यस भित्र, म जीवनमै देखभेट र सम्पर्क नभएको व्यक्ति पर्ने कुरै भएन । पुस्तक पाउन धेरै सूत्र लगाएँ तर केही सीप लागेन । मेरो यो मर्म बुझेर साहित्य साधक सीताराम उप्रेतीजीले आफूले पढिसकेको यो पुस्तक मलाई उपलब्ध गराएर गुन लाउनुभयो ।

यस पुस्तकमा स्रष्टाले परिच्छेद- १ मा दश शीर्षक, परिच्छेद २ मा चौध शीर्षक र परिच्छेद-३ मा ६ शीर्षक सजाएका रहेछन् । परिच्छेद-४ भने स्रष्टाको व्यक्तित्व र पुस्तकको विशेषताका बारेमा प्रारम्भमा पुस्तक पढ्न पाउने चारजना भाग्यमानीहरूका विचार र दृष्टिकोणलाई समेटिएको रहेछ ।

पुस्तक पल्टाएपछि यस भित्रका प्रत्येक आलेखहरूले मलाई तानिरहे । मनलाई तान्ने पुस्तक नै पढ्ने अभिरुचि हुन्छ सबैमा । मलाई पनि त्यस्तै भयो । धेरै किताबहरू पढ्न कोसिस गरे पनि किताबले नताने पछि पढ्नै सकिँदैन । अनि यसो हेरिटोपलेर त्यसै थन्क्याइन्छ । यो किताब पढ्दा मलाई आफ्नै अतीतसँग मिल्दा धेरै कुराहरू किताब भित्र पाएर पनि रुचिकर लागेको होला ।

पुस्तकभित्र स्रष्टा झापामा र अन्य ठाउँमा भएको वन विनाशको विरहमा विरक्तिएका छन् । झापामा र अन्यत्र देश विदेशमा भएका डकैतीका घटनादेखि डराएका छन् । काइते र कीर्तेहरूले अपराधबाट उन्मुक्ति पाएको देखेर रिसाएका छन् । कथित ठूलाबडाहरूले सोझासाझा मानिसहरूलाई झुटा मुद्दाको डर देखाएर र सोझोपनको फाइदा उठाएर जमिन हडपेको देखेर आहत भएका छन् । विभिन्न नाममा हिंसा मच्चाएर आफ्ना स्वार्थ पूर्ति गर्ने दौरानमा मान्छेलाई जुधाएर भएका हत्याबाट आद्र बनेका छन् । जीवनको महत्त्वलाई गहिरो गरी केलाएका छन् । शारीरिक अपाङ्गताले साथ खोजेको र मानसिक अपाङ्गताले देश पिरोलिइरहेको व्यङ्गको झटारो हानेका छन् । अहिलेका आफूलाई लोकप्रिय र जनप्रिय ठान्ने कथित हमामहिमहरूबाट देशको स्थिति झन्झन् गिर्दै गएको देखेर यो स्थितिमा सुधार गर्नसक्ने कुनै बुद्ध जन्मियोस् भनेर पुकार गरेका छन् । गहकिला व्यक्तिहरूको आचरण र विचार तथा निष्ठापूर्ण जीवन देखेर प्रेरणा बटुलेका छन् ।

देशमा विद्यमान राजनीतिक संस्कारबाट स्वयम् र अनेकन व्यक्तिहरूमाथि भएका तिरस्कार र अपमानबाट प्रताडित बनेका भावनाहरू छरिएका छन् । सुधार गर्न नसकेर आफैँ आजित हुनु परेका घटनाहरूप्रति आक्रोशित बनेका छन् । जीवनयापनकै लागि संघर्ष गरिरहेका जनताको जीवनमा कसैले पनि परिवर्तन ल्याउन नचाहेको देखेर भावुक बनेका छन् । देश र जनताको समुन्नतिका लागि चिन्तित बनेका छन् । नेपालको चर्चित घोटाला गिरीबन्धु टी स्टेटको जग्गाको साविक स्वामित्व र स्वामित्व हस्तान्तरणका रोचक प्रशङ्गहरूले जिज्ञासु पाठकहरूलाई लोभ्याएको छ । त्यसैले पनि यो पुस्तक खोजी गर्नेहरू दिनानुदिन थपिँदै छन् । स्रष्टाको त्यो मनोविज्ञान बुझ्न र ती तथ्यपरक घटनाहरूबारे विस्तारपूर्वक जान्न किताब नै पल्टाएर हेर्नुपर्ने हुन्छ ।

बाहिरबाट झट्ट मानिसले स्रष्टालाई पहिचान गर्ने उहाँको व्यक्तित्व राजनीतिसँग सम्बन्धित भए पनि उनको यस पुस्तकले उनी एउटा कुशल लेखन क्षमताका धनी र साहित्यिक भाव भएको व्यक्तित्वको थप परिचय दिएको पाइन्छ । पुस्तकभित्र स्रष्टा जबरदस्त मनोवैज्ञानिक विश्लेषक देखिएका छन् । व्यङ्ग्यात्मक बिम्बहरूको बेजोड प्रस्तुति पुस्तकभित्र पाइन्छ ।

यस पुस्तकका सामग्री महत्त्वपूर्ण र रुचिकर हुँदाहुँदै पनि  पढ्नै असजिलो हुने साना आकारका अक्षरमा पुस्तक छापिँदा पाठकमाथि अन्याय भएको महसुस हुन्छ ।

यो पुस्तक झापा लगायत नेपालका पूर्वी जिल्लाहरूको राजनीतिक , सामाजिक, भौगोलिक, आर्थिक  र जनसाङ्ख्यिक इतिहासका भरपर्दा प्रमाणहरूको कलात्मक प्रस्तुति पनि हो । समाजमा भएका परिवर्तनको क्रमिक रूप बुझ्न यो पुस्तक अत्यन्त उपयोगी सिद्ध हुनेछ । तथ्यलाई तोडमोड नगरी आफूलाई साक्षी भावमा मात्र राखेर सबै प्रति समभाव राखी पुस्तक लेख्दा केही अनुहारहरू लेखकप्रति आक्रोशित पनि बनेका होलान् वा भविष्यमा बन्लान् कि भन्ने पनि लाग्यो । “कि लेख्दै नलेख्नु लेखिसकेपछि नढाँटी लेख्नु” भन्ने उक्तिलाई पछ्याउँदा त्यस्तो अवस्था अवश्य पनि आउँछ ।

यो पुस्तक पढेर नसक्दै उहाँसँग साक्षात्कार गर्ने संयोग पनि जुर्यो । त्यस अवसरमा उपहार स्वरूप मैले पनि एक प्रति किताब पाएँ र धन्यवाद प्रकट गरेँ ।

अहिले स्रष्टाले लेखन यात्रालाई बिसाएका रहेछन् । पुस्तककै विषयलाई केन्द्रमा राखेर एकैछिन भए पनि हामी दोहोरो संवादमा जुटिरहँदा हामीले खुशीको अनुभूति गर्यौं । यस घडीमा म स्रष्टाको जीवन अझ स्वस्थ, सुखमय र सुदीर्घ बनोस् र लेखनयात्राको शीघ्र पुनरागमन होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।