गोकर्ण मल्ल समकालीन नेपाली साहित्यका एक उदयीमान स्रष्टा हुन् । उनको पहिलो आख्यान शुभारम्भका पाइलाहरू (२०७९), दोस्रो कवितासङ्ग्रह सिउँडीको फूल (२०८०), त्यसैगरी फेरि तेस्रो कृति मल्लिका मुक्तकसङ्ग्रह (२०८१) पछि हालसालै चौथो आख्यानका रूपमा निर्गम पाठकमाझ आइसकेको छ । यस पुस्तकलाई रत्ननगर वाङ्मय प्रतिष्ठान, चितवनले प्रकाशन गरेको हो । मल्लको उक्त कृति सामाजिक यथार्थलाई आधार मानेर लेखिएको उपन्यास हो । उपन्यासको कथाले अहिलेको समाजको दुरुस्तै चित्रण गरेको छ । हिजोआज निकै प्रसिद्धि कमाएको चलचित्र ‘परान’ले पनि यस्तै कथावस्तु बोकेको छ । ५० वर्षअघि लेखिएको मुगलानदेखि अहिलेको नयाँ मुगलाननिर्गमसम्म आइपुग्दा पनि यो कथा उत्तिकै समयसापेक्ष छ । पात्र फेरिए पनि कथावस्तु उही छ ।

उपन्यासको कथावस्तु मूलतः गोरखा जिल्लाको खाप्दी भञ्याङ्गमाथिको पोखरीडाँडा गाउँका भोलानाथ शर्मा र उनका कान्छा छोरा शिवनाथ शर्माको वरिपरि घुमेको छ । गोरखादेखि शुरु भएको कथामा एकदिन अचानक अमेरिकी नागरिक कार्टर भित्रिन्छन् र उनीसँगै कथाको पोयो बाटिँदै बाटिँदै जान्छ । कार्टरको साथ लागेर मुख्य पात्र शिवनाथ पनि अमेरिका पुग्छ । शिवनाथले देश छोड्नुपर्ने अवस्था किन आयो ? जे जस्तो परिस्थिति आए पनि आफ्नो देश छोडेर कतै नजाने सोच भएको शिवनाथको कथा पढ्दा लाग्छ – उसमा र अहिलेका युवामा खासै केही फरक छैन – उस्तै निराशा, उत्तिकै कुण्ठा । देशलाई मनमुटुमा गाँठो पारेर तिनै बाहिरिनेका हुलमा मिसिएर हिँड्ने एउटा निरिह प्रतिनिधि पात्र हो शिवनाथ शर्मा । बाह्र सकेपछि विदेशिने जुन लहर चलेको छ अहिले देशमा, त्यसले समाजमा पार्ने नकारात्मक असर धेरै छन् । यसले दीर्घकालीन रूपमा राष्ट्रकै भविष्यलाई जोखिममा पारेको छ । साँच्चै भन्नुपर्दा, साराका सारा युवा देशै छोडेर हिँड्नुपर्ने बाध्यता सिर्जना गर्ने अरु कोही नभएर यिनै प्रमुख दल र तिनका टाउकेहरू हुन् । राजनीतिक अस्थिरता र भ्रष्टाचारका कारण शिवनाथ जस्ता सर्वसाधारण नेपाली योग्य हुँदाहुँदै पनि सधैँ र सबै ठाउँमा ओझेल पर्नुपरेको छ । देशमा अवसर नहुँदा प्रतिभा पलायन हुन्छ, यसमा दोष प्रतिभाको हुँदैन, देशको हुन्छ ।

नेपाल विगत धेरै वर्षदेखि राजनीतिक अस्थिरताबाट जुधिरहेको छ । बारम्बार सरकार परिवर्तन, नेताहरूको स्वार्थ, दीगो नीति अभाव र विकासका काममा देखिने ढिलासुस्तीले देशको समग्र प्रगतिलाई रोकेको छ । राजनीतिक नेतृत्वबाट जनताले अपेक्षा गरेको जवाफदेहिताको अभावले सबैभन्दा धेरै निराश युवापुस्तालाई बनाएको छ । नेपालका अधिकांश युवा आज रोजगार, उच्चशिक्षा, सुरक्षा र सम्मानजनक जीवनको खोजीमा विदेशिन बाध्य छन् । देशमै राम्रो अवसर नपाइने, सरकारी निकायमा देखिने ढिलासुस्ती, भ्रष्टाचार, र आर्थिक नीतिको अस्थिरताले उनीहरूमा यहाँ बसेर भविष्य सुरक्षित छैन भन्ने भावना जन्माएको छ । विदेशमा कडा मिहिनेत गरेर पनि अपमान, जोखिम र परिवारबाट टाढा बस्नुपर्ने हुनाले जीवन सहज हुँदैन तर युवाहरूलाई त्यहाँ मेहेनतको उचित मूल्य पाइने आश्वासन हुन्छ जुन कुरा उनीहरूले आफ्नै देशमा अनुभूत गर्न सकेका छैनन् ।

यसै सन्दर्भमा एउटा कुरा उठाउन चाहन्छु, एक वर्षअघि यस्तै हिउँदे दिनको कुरा हो । एउटा साहित्यिक कार्यक्रममा डा. गोविन्दराज भट्टराई बोल्दै गरेको सुनेकी थिएँ । मलाई थाहा भएसम्म त्यो उहाँकै नयाँ मुगलान पुस्तक विमोचनको दिन थियो । उहाँका शब्द मलाई स्पष्ट याद छ — “आफ्नो थातथलो छोडेर अझै अर्को सुविधायुक्त ठाउँमा सर्ने चलन त धेरै पहिलेदेखिकै हो, तर यसरी देशै छोडेर साराका सारा युवा विदेशिनु भनेको यो एउटा डरलाग्दो ‘सरुवा रोग’ हो ।” साँच्चै गहिरिएर सोच्नुहोस् त, गाउँ सुनसान भैसक्यो । उच्चशिक्षाको नाममा तल्लाघर, माथ्लाघर कुन घरका छोराछोरी विदेशिएका छैनन् र ? विश्वव्यापीकरणले गर्दा हाम्रो पहुँच असीमित भएको छ । जान त गए, उता पुगेपछि फेरि देश फर्किन सक्ने अवस्था छैन अनि यो सरुवा रोग नभएर के हो त ? कति आमाबाबु त अरुका छोराछोरीको डलरे ऐश–आरामको राम–रमाइलो देखेर आफ्नालाई पनि घर छोड्न बाध्य बनाएर धपाउने अनि पछि पछुताउने पनि छन् । कति साथीको सङ्गतमा परेर, कोही कमाउन, कोही रमाउन, थोरै मात्र अध्ययनका निम्ति हिँडेका छन् ।

शिवनाथ अमेरिका गएर पढाइ सकेपछि एकदुई पटक त घर आयो । तर नेपालमा गर्न खोजेका प्रत्येक कार्यहरू एकपछि अर्को गर्दै असफल हुँदै गएपछि उसले फेरि देश छोड्यो । वास्तवमा, समस्या युवाको चाहनामा होइन, राज्य र समाजको तयारीमा छ । जबसम्म योग्यता भन्दा पहुँच ठूलो बन्छ, जबसम्म परिश्रमभन्दा सिफारिस बलियो हुन्छ, तबसम्म युवाको भरोसा फर्किन गाह्रो हुन्छ ।

कथामा अर्का एकजना पुष्पराज जोशी नाम गरेका पात्र छन् । उनी भोलानाथका बालसखा हुन् । शिक्षण पेशामा आवद्व पुष्पराज अत्यन्तै मिलनसार छन् । उनको छोरा पनि अष्ट्रेलिया बस्छन् । आफ्नो छोरा अमेरिका गएपछि बिथोलिएका भोलानाथलाई “मेरो छोरो विज्ञान भेट्न हामी उतै जान्छौँ, तिमी पनि छोरो सम्झेर कुनैदिन भेट्न पुग्नेछौ । धेरै चिन्तित हुनु हुँदैन ।” भन्दै आश्वाशन दिन्छन् उनी । हुन त उनी पनि ब्रेन ड्रेन पीडित हो तर छोरा भेट्न अष्ट्रेलिया पुगेर आएपछि उनले छोराको सफलता र आफ्नो भाग्यलाई आत्मसात् गरेका छन् । विदेशिएका सन्तानको पीडालाई कतै अन्तरकुन्तरमा लुकाएर बसेका हामीजस्ता धेरै छन् भोलानाथ भन्दै पुष्पराजले सम्झाउँदा मेरो पनि मन भक्कानिन्छ ।

जबसम्म उमेर पुगेको हरकोही सक्षम व्यक्तिले आफ्नै देशमा आधारभूत सुविधा खरिद गर्न सक्नेगरी रोजगारीको अवसर पाउँदैन, तबसम्म युवा पलायनको क्रम रोकिनेवाला छैन । जसरी शिवनाथले देश छोड्यो त्यो अवस्थाको सृजना मेरै घरमा पनि त हुनसक्छ । एउटा लेभलको अध्ययन सकेर जागिर खोज्दै गरेका मेरा पनि दुई थान छोराछोरी छन् । एकप्रकारको डरलाग्दो त्रासदी मेरो मनमा पनि गढेर बसेकै छ । पढिसकेर चित्त बुझ्दो रोजगारी भेटिएन भने झोला भिरेर अनिश्चितताको बाटो हिँडेको टुलुटुलु हेरिरहनुको विकल्प के रहला र ? साँच्चै भन्नुपर्दा हाम्रो देश नेपालको शिक्षा, विदेशको टिकटका लागि मात्र भयो । विदेश जाने तिनै भए जसको सपना देशप्रति धेरै थियो । बसाइँसराइ चाहिँ अहिले आएर बाध्यता भयो । देश छोडेका दिनदेखि नै ऊ एकप्रकारले बाँधिन्छ, बन्धनमा परिहाल्छ । फर्किएर आफ्नो मुलुक आउन सक्दैन । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भनेझैं ऊ आफ्नो मातृभूमिलाई भूल्न पनि सक्दैन । आफ्ना मातापितालाई विदेशमै बोलायो, क्षणिक आनन्दमा रमायो र जन्मभूमिलाई सम्झँदै साहित्य लेख्यो । आफ्नो जीविकोपार्जनका लागि सङ्घर्ष गर्नुपर्दा एक्लो भइन्छ, सम्बन्धहरू फितलो हुँदै जान्छ । जति गारो भए पनि त्यो जालबाट फुत्कन सकिँदैन, फेरि यताको माया र आफ्नोपन मनबाट कहिल्यै छुट्दैन, प्रत्येक पल मातृभूमिले बिर्सेको त छैनस् नि भन्दै चिमोटिरहन्छ । यसरी डायास्पोराको जन्म हुन्छ । हो यस्तै छ निर्गममा । विशेषतः यूवा पिँढीलाई लक्षित गरेर लेखिएको हो यो पुस्तक । त्यसकारण उनीहरूकै लागि यो अनुरोध–विदेश जानु अपराध होइन, न त सपना देख्नु नै गलत हो । अवसर र रोजगारीको खोजीमा विदेश पुग्नु बाध्यता र रहर दुवै हुनसक्छ । तर थोरै सोचेर आफ्नो माटो, आफ्नो भाषा, आफ्ना बाआमा र यहीँ लुकेका सम्भावनालाई सम्झनुहोस् । देश कमजोर छैन, कमजोर बनाइएको छ । त्यसलाई सबल बनाउने शक्ति र ज्ञान दुवै तत्त्व यूवासँग छ । यूवाको सीप, ज्ञान र इमान्दारी यहीँ खर्चिए नेपालको मुहार अवश्य फेरिन्छ । परिवर्तन सम्भव छ । यदि जानु नै छ भने पनि पलायन होइन– तयारीका साथ जानुहोस् । सिकेर फर्किने अठोटसहित जानुहोस् । विदेशबाट पैसा मात्र होइन, दृष्टि, अनुशासन र प्रविधि पनि ल्याउनुहोस् । देश सधैँ यहाँहरूको प्रतिक्षामा छ । आफ्नो भविष्य बनाउँदा देशलाई पनि साथमा बोक्न नबिर्सनुहोस् ।

लेखकले यस उपन्यासमा एउटा जोगी पात्र पनि समावेश गरेका छन् । जोगीको फेरि आफ्नै कथा छ । नियतिले कसलाई कसरी ठग्छ र केके पनि सहनुपर्छ यो मान्छेको जुनीमा । विदेशिए पनि एकदिन त पक्कै पनि फर्केर आउलान् भन्ने आशा रहुञ्जेल दुःख भुलाउन सजिलो हुन्छ तर जसले आफ्ना सबै परिवार गुमाएको छ, उसले दूरी होइन, अन्त्य भोगेको हुन्छ । सबैभन्दा भारी कुरा भनेको आशाको अन्त्य हुनु हो । त्यो दुःखको अगाडि स्मृति पनि सहारा नभई सजायजस्तो भइदिन्छ । यस्तै चोटले जोगी बनाएको हो भीमसेनलाई । लेखक यहाँ एउटा शिद्ध पुरुष लाग्छन्, एकप्रकारले यो मायामोहको संसार त्यागेर वैराग्य जीवन व्यतीत गर्दै गरेका जस्तो । जलवायु परिवर्तनले ल्याएको विनासलाई लेखकले जोगीको वियोगान्त घटनाका माध्यमबाट दर्शाएका छन् । जलवायु परिवर्तनको मुख्य भागेदार ता हामी मनुष्य नै हौँ त्यसकारण पृथ्वीमा बास गर्ने सम्पूर्ण प्राणीहरूमध्ये विशिष्ठ प्राणी हामी मानवको यो प्रकृतिमा के कस्तो दायित्व हुन्छ त्यो निर्वाह गरौँ भनेका हुन् लेखकले । यसरी, निर्गमले पर्या साहित्यको बारेमा थोरै नै भए पनि आवाज उठाएको छ ।

मल्लले यस कृतिमा पार्वती, सतिभा र ओझेलमा परेका पात्र सतिभाका पूर्वप्रेमीमार्फत एउटा गहिरो विषयवस्तुको उठान गरेका छन् । आजका युवाहरूको सम्बन्ध बाहिरबाट हेर्दा निकै रंगीन, स्वतन्त्र र आधुनिक देखिन्छन् तर ती प्रायः क्षणिक र विषाक्त हुन्छन् । यसले अहिलेका युवाहरूको अपरिपक्वताको चित्रण गर्दछ । सम्बन्ध बिग्रनुको कारण उमेर होइन, भावनात्मक अपरिपक्वता हो ।

कथा पढ्दै जाँदा पात्रहरूको कतिपय कुराहरू चित्तै बुझ्दैन । निरंकुश सोचाईलाई माटोमुनि गाडेर समाज अगाडि बढे पनि कतिपय कुराहरू अझै अपाच्य छन्, र त्यसैकारण पनि केही पात्रलाई उपन्यासकारले न्याय नगरेझैं लाग्छ । हुन त मल्लले यस्ता सम्बन्धहरू प्रत्यक्ष बन्दै र भत्किँदै गरेको देखेका होलान्, त्यही भएर त कथाको वर्णन निकै यथार्थपरक छ ।

अन्त्यमा, निर्गम नेपाली समाजको आजको यथार्थ उजागर गर्ने उत्कृष्ट सामाजिक उपन्यास हो । यसले अहिलेका युवाको मनोदशा, मनोभाव, विषाक्त सम्बन्ध, उनीहरूको अभिभावकको पीडा, समाजको विडम्वना र देशभित्र अवसर नपाएको त्रासलाई सशक्त ढङ्गले प्रस्तुत गरेको छ । गोकर्ण मल्लको यो कृति केवल साहित्यिक सौन्दर्यकै लागि मात्र नभई, सामाजिक चेतना जगाउने गहिरो कृति पनि हो । सायदै निर्गमको विडम्बना नै यही हो कि, लेखक खुद आफैँ यसका शिकार भएका छन् । र अझै ठूलो विडम्बना सारा संसारले यो कुरा बुझे तापनि यो निर्गम नामक सरुवा रोग सजिलै निर्मुल हुनेवाला छैन । तर सारो निरासावादी भइरहनु पनि राम्रो होइन, जेनजी पुस्ताले आशाको दीयो सल्काइसके । पर्खौँ ! अब छिट्टै मैलो बादल हटेर जानेछ ।