
बाह्रखरी कथाको तेस्रो संस्करण ‘डिश होम १२खरी कथा प्रतियोगिता २०७८’को नतिजा आउँदो मंसिर ३ गते शुक्रबार सार्वजनिक हुने भएको छ । यस वर्षको कथा प्रतियोगिताको नतिजासँगै प्रतियोगितामा उत्कृष्ट ठहरिएका २५ कथा समेटिएको कथासंग्रह ‘१२खरी उत्कृष्ट कथा २०७८’ पनि सार्वजनिक गरिनेछ ।
बाह्रखरी बुक्सले गत साउन ३१ गते १२खरी कथा प्रतियोगिताका लागि कथा आह्वान गरेको थियो । कथा प्रतियोगिताको यस संस्करणका निर्णायकहरूमा आख्यानकार नारायण ढकाल, समालोचक कुमारी लामा र कथाकार विवश पोखरेल रहेका छन् ।
कथा प्रतियोगितामा गत वर्षहरूझैँ प्रथम हुनेले रु. एक लाख, द्वितीय हुनेले रु. ६० हजार र तृतीय हुनेले रु. ४० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । कथा प्रतियोगितामा उत्कृष्ठ २५ भित्र परेका कथाकारलाई पनि उचित पारिश्रमिक दिइने व्यवस्था गरेको आयोजकले बताएका छन् । त्यस्तै उत्कृष्ट ५० भित्र परेका कथाहरू बाह्रखरीको साहित्यिक पृष्ठमा प्रकाशित हुनेछन् ।
यसअघि प्रतियोगिताको दोस्रो संस्करणमा मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बिजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएका थिए । पहिलो संस्करणको प्रतियोगितामा बिना थिङ तामाङको कथा ‘ब्याड भाले’, लक्ष्मण वियोगीको कथा ‘टाउको’ तथा सुमित्रा न्यौपानेको कथा ‘बार्दली’ क्रमशः प्रथम, द्वितिय तथा तृतिय भएका थिए ।
१२खरी कथा प्रतियोगिता २०७८को नतिजा तथा कथासंङ्ग्रह विमोचन कार्यक्रमको प्रत्यक्ष प्रसारण १२खरी युट्यूब च्यानल, सरोकार टीभी तथा १२खरी फेसबुक च्यानलबाट प्रत्यक्ष प्रसारण गरिने छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ असार २०८३, शनिबार 









