काठमाडौं । नेपाली साहित्यको पुस्तान्तरणलाई औपचारिक रूप दिन पब्लिकेसन नेपालयले २५ वर्षमुनिका ७५ लेखकका रचना प्रकाशन गर्ने भएको छ । कथा, कविता र निबन्ध विधामा २५–२५ जना स्रष्टालाई समेट्दै नेपालयले नयाँ पुस्ताको साहित्यिक आवाजलाई पुस्तकाकार रूपमा सार्वजनिक गर्न लागेको हो ।

सन् २०२५ को पहिलो दिन जनवरी १ मा ‘२०२५ मा २५ का २५’ शीर्षकमा गरिएको खुला आह्वानले अपेक्षाभन्दा धेरै युवा लेखकलाई आकर्षित गर्‍यो । नेपालयका सम्पादक विमल आचार्यका अनुसार सन् २००१ जनवरी १ यता जन्मेका ६ सयभन्दा बढी लेखक संसारभरिबाट सहभागी भए । “तीन विधामा हामीले रचना आह्वान गरेका थियौँ,” आचार्य भन्नुहुन्छ, “नयाँ पुस्ताको उत्साह, प्रयोगशीलता र आत्मविश्वासले हामी आफैँ चकित भयौँ ।”

तीन विधाका उत्कृष्ट रचना छनोट गर्न कवि श्रवण मुकारुङ, आख्यानकार नारायण वाग्ले र लेखक भूषिता वशिष्ठ सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिले समसामयिक चेतना, शिल्प, भाषा र मौलिकताको आधारमा ७५ रचना छनोट गरेको हो ।

कथा विधामा चयन भएका कथाहरूले नयाँ समयको मनोदशा बोकेका छन् । छनोट समितिका सदस्य नारायण वाग्ले भन्छन्, “यी कथामा नयाँ युगबोध छ । कतै स्थानीयताको सुगन्ध छ, कतै कथ्यको नयाँ प्रयोग । जेन–जीको आख्यानिक आन्दोलनको संकेत मैले यी कथामा भेटेँ ।”

कविता विधामा छानिएका कविहरूले व्यक्तिगत अनुभूति मात्र होइन, आजको समाज, राजनीति र देशको बेचैनीलाई कलात्मक भाषामा उतारेका छन् । निर्णायक कवि श्रवण मुकारुङका शब्दमा, “यी कविहरू नयाँ ठाउँमा उभिएर नयाँ समयलाई सम्बोधन गरिरहेका छन् । यिनको कल्पनाशीलता हाम्रो पनि सपना हो । धेरै राम्रा कवितामध्ये २५ मात्र छान्नु निकै कठिन भयो ।”

निबन्ध विधामा चयन भएका रचनाहरूले विचार, अनुभूति र तर्कलाई नयाँ ढंगले प्रस्तुत गरेका छन् । निर्णायक सदस्य भूषिता वशिष्ठ भन्नुहुन्छ, “यी रचना पढ्नु जेन–जी आन्दोलनसँगै हिँडेजस्तो लाग्यो । विषय, शैली र साहित्यिक प्रौढता सुन्दर छ । शिल्पमा कतै अपरिपक्वता देखिए पनि उमेरअनुसारको साहस र चेतना उत्साहजनक छ ।”

नेपालयले यस परियोजनामा भाषिक स्वतन्त्रतालाई पनि महत्व दिएको छ । लेखकले जुन भाषामा रचना लेखेका छन्, पुस्तकमा त्यही भाषामा छापिनेछ । नयाँ पुस्ता के सोच्दैछ, के चाहन्छ र कसरी लेख्छ भन्ने अनुभूति दिलाउन यो पहल गरिएको नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ बताउनुहुन्छ । “पल्पसा क्याफे प्रकाशनबाट सुरु भएको हाम्रो २० वर्षे यात्रामा हामीले नयाँ पुस्ताका लेखक खोजी गरेका हौँ,” उहाँ भन्नुहुन्छ, “एक्काइसौँ शताब्दीको पहिलो दिनदेखि जन्मेका यी स्रष्टाका रचनामा पाठकले नयाँ स्वर भेट्ने विश्वास छ ।”

रचनाको गुणस्तरकै आधारमा झन्डै ४० प्रतिशत महिला लेखक छनोट हुनु पनि यस परियोजनाको उल्लेखनीय पक्ष बनेको छ । छानिएका रचनालाई समेटेर पब्लिकेसन नेपालयले कथा, कविता र निबन्ध विधामा अलग–अलग तीन पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ । नेपाली साहित्यमा नयाँ पुस्ताको उपस्थिति र सम्भावनालाई एकै ठाउँमा देखाउने यो प्रयासलाई समकालीन साहित्यिक यात्राको महत्त्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ ।