काठमाडौँ । कस्मेटिक, सौन्दर्य तथा वेलनेस क्षेत्रसँग सम्बन्धित नेपालकै पहिलो र एकमात्र वृहत् ट्रेड शो ‘कस्मेटिका २०२५’ यही डिसेम्बर २६ देखि २८ (पौष ११, १२ र १३ गते) सम्म काठमाडौँको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा आयोजना हुने भएको छ । हाउस अफ राजकर्निकारद्वारा सञ्चालन हुने यस कार्यक्रमलाई नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालको सहयोग रहनेछ । वाव म्यागजिन मिडिया पार्टनर, वेवसर्फ़र आईएसपी पार्टनर र सागर आर्ट सर्भिस प्रिन्ट पार्टनरका रूपमा जोडिएका छन् ।

कस्मेटिका २०२५ ले सौन्दर्य तथा वेलनेस उद्योगसँग आबद्ध ब्रान्ड, उत्पादक, आयातकर्ता, वितरक, आपूर्तिकर्ता तथा व्यवसायीलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्य लिएको छ । बी–टु–बी र बी–टु–सी दुवै वर्गलाई लक्षित गरिएको यस एक्स्पोमा कस्मेटिक्स उद्योगका नयाँ उत्पादन, सेवा, प्रविधि र शैलीको प्रदर्शन गरिनेछ ।
कार्यक्रममा कस्मेटिक ब्रान्ड, स्किनकेयर र हेयरकेयर कम्पनी, पर्सनल केयर तथा वेलनेस ब्रान्ड, प्याकेजिङ कम्पनी, कस्मेटिक टेक्नोलोजी संस्था, ब्यूटी स्कूल, प्लास्टिक सर्जरी क्लिनिक, हेयर इम्प्लान्ट क्लिनिक तथा डेन्टल र कस्मेटिक क्लिनिकहरूको सहभागिता रहनेछ । आगन्तुकका रूपमा उत्पादक, आयातकर्ता, वितरक, खुद्रा विक्रेता, सलुन सञ्चालक, ब्यूटी कन्सल्टेन्ट, छाला रोग विशेषज्ञ, प्लास्टिक सर्जन र कस्मेटिक डेन्टिस्टहरू सहभागी हुनेछन् ।

कस्मेटिका २०२५ लाई केवल प्रदर्शनीमा सीमित नराखी सौन्दर्य र वेलनेसको उत्सवका रूपमा प्रस्तुत गरिने आयोजकको भनाइ छ । कार्यक्रम अवधिभर ‘हल अफ फेम’मार्फत सौन्दर्य तथा वेलनेस क्षेत्रमा योगदान पुर्‍याएका महिलाहरूको सम्मान, निःशुल्क ट्रायल र स्याम्पल वितरण, लाइभ मेकअप तथा हेयर स्टाइलिङ डेमो, स्किनकेयर र हेयरकेयरसम्बन्धी कार्यशाला, सेमिनार तथा विज्ञहरूसँग प्रत्यक्ष परामर्शका कार्यक्रम समावेश गरिएका छन् । वाव म्यागजिन, सायम ब्यूटी पार्लरकी कमला श्रेष्ठ, बोस ब्यूटी एकेडेमीकी सुनिता श्रेष्ठ, ट्रु डर्माका विज्ञान जोशी र इसास ब्यूटीका प्रस्तुति तथा सत्रहरू यस एक्स्पोका प्रमुख आकर्षण हुनेछन् ।
पछिल्लो दशकमा नेपालमा कस्मेटिक्स तथा वेलनेस बजार उल्लेखनीय रूपमा विस्तार हुँदै आएको छ । जीवनशैली, सामाजिक मूल्य र ट्रेन्डमा आएको परिवर्तनसँगै व्यक्तिगत हेरचाह र सौन्दर्यप्रतिको चेतना बढेकाले बजार तीव्र गतिमा बढिरहेको छ । हाल नेपालको कस्मेटिक्स तथा पर्सनल केयर बजारको कुल मूल्य करिब २३.६ अर्ब रुपैयाँ पुगेको छ भने सन् २०२५ सम्म आयात २०.४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । उद्योग विज्ञका अनुसार यो बजार वार्षिक २० देखि २५ प्रतिशतको दरले वृद्धि भइरहेको छ ।

नेपालको सौन्दर्य, पर्सनल केयर र वेलनेस क्षेत्रलाई अन्तरसम्बन्ध, ज्ञान आदान–प्रदान र नेटवर्किङको साझा मञ्च प्रदान गर्ने उद्देश्यसहित कस्मेटिका २०२५ आयोजना हुन लागेको आयोजकले जनाएको छ ।