काठमाडौं । साहित्यकार राजीव श्रेष्ठका दुई कृति ‘अनाहक प्रश्नहरू’ (कवितासङ्ग्रह) र ‘सफलताका आयाम’ (जीवनीकृति) राजधानीमा लोकार्पण गरिएको छ।
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा प्रा.डा. दयाराम श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’, विमल भौकाजी, डा. जीवलाल वस्याल लगायत साहित्यकार तथा व्यक्तित्वहरूले ती कृतिहरू सार्वजनिक गर्नुभएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. श्रेष्ठले राजीव श्रेष्ठका कवितामा तडकभडक नदेखिएको, तर गहन अर्थसहित जीवनका दुःखभित्र सुखको खोजी रहेको बताउनुभयो। उहाँले श्रेष्ठलाई भोगाइका सन्दर्भलाई कलात्मक भाषामा उतार्न सिपालु कविका रूपमा चित्रण गर्नुभयो।
श्रीओम श्रेष्ठ ‘रोदन’ले पचासको दशकदेखि लेखनमा लागेका श्रेष्ठको कृति ढिलो सार्वजनिक भए पनि सार्थक रहेको बताउँदै लेखकमा सम्भावनाको गहिरो भण्डार रहेको धारणा राख्नुभयो। कवितासङ्ग्रह ‘अनाहक प्रश्नहरू’ का सन्दर्भमा विमल भौकाजीले राजीव श्रेष्ठ संवेदनशील कवि भएको बताउँदै कवितामा आत्मभोग, जीवनदर्शन र आशावादिता समेटिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार सो कृतिमा ३२ वटा कविता समावेश छन्।
जीवनीकृति ‘सफलताका आयाम’माथि टिप्पणी गर्दै डा. जीवलाल वस्यालले लेखकले विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको सूक्ष्म अध्ययन गर्दै बहुआयामिक ढंगमा कृति निर्माण गरेको बताउनुभयो। उहाँले यो कृति विद्यार्थी, अनुसन्धानकर्ता र पाठकहरूका लागि सन्दर्भ सामग्रीका रूपमा उपयोगी हुने दाबी गर्नुभयो।
स्रष्टा राजीव श्रेष्ठले लेखनमा लाग्न प्रेरणा आफ्ना स्वर्गीय पिताबाट पाएको बताउँदै लेखनप्रतिको यात्रालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा लेखकका आमा सानुमैयाँ श्रेष्ठ, ठूली आमा सुलोचना श्रेष्ठलगायतका परिवारका सदस्यहरूलाई सम्मान गरिएको थियो। त्यसैगरी कवि पूर्णबहादुर श्रेष्ठ, ह्रदयङ्कृत, तारा केसी र विश्व सिग्देलले लोकार्पित कृतिबाट एक/एक कविता वाचन गर्नुभएको थियो।
कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूलाई आयोजक संस्थाका अध्यक्ष छविरमण सिलवालले मायाको चिनो प्रदान गर्नुभएको थियो। कार्यक्रम सुनकोसी वाङ्मय प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य सदस्य शुभद्रा अधिकारीले राख्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ असार २०८३, शनिबार 









