‘साहित्यपोस्ट काव्य पुरस्कार २०८१’ को अन्तिम सूचीमा एक दशकदेखि कविता लेखनमा सक्रिय कवि आर्यशको कवितासङ्ग्रह ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’ पर्न सफल भएको छ । यो सूचीमा आफ्नो पहिलो (डेब्यु) कृतिका रूपमा काव्य लेखेका तीन कवि समावेश छन् ।

आर्यशका कवितामा उदासीनता, कलात्मकता, विद्रोही चेत, कोमलता, सिर्जनशील अराजकता लगायतका विविधता पाइन्छ । कवितामा कवि विसङ्गत समय, आर्थिक तथा सामाजिक बेथिति र राज्यसंयन्त्रसँग जुध्दाजुध्दा थाकित र निराश भएको देखिन्छ । कविले जीवनक्रममा भोगेका अनेकन अनुभूतिहरू कवितामा प्रस्फुटित भएका छन् जसको केन्द्रमा निरासा र उदाशिनता भेटिन्छ । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।

अन्तिम सूचीमा कवि हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’, आर्यशको ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’ र मधुसुदन घिमिरेको ‘मायाको आयतन’ कवितासङ्ग्रह रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट काव्य पुरस्कार २०८१’ प्रदान गरिनेछ ।

‘साहित्यपोस्ट काव्य पुरस्कार २०८१’ का लागि ०८१ सालमा प्रकाशित डेब्यु कविका प्राप्त ४२ काव्य कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा ४२ काव्यकृतिहरूबाट १२ कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ काव्यकृतिको ‘छोटो सूची‘ सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ काव्यकृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।

काव्य संरचना, बिम्ब र प्रतीकको प्रयोग, दृष्टिकोण निर्माण, नवीनता, सामाजिकता र समय चेत, प्रस्तुति, कवितामा निहीत कविको भाव र अनुभूति, शीर्षकको सार्थकता लगायत काव्यका विविध आयमहरू आधार बनाई काव्यकृतिहरूको मूल्यांकन गरिएको मूल्याङ्कन समूहले जनाएको छ ।

यसअघि पुरस्कारको छोटो सूचीमा शकुन आँसुको ‘नवयुगकी सुम्निमा’, हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’, जगन्नाथ पौडेलको ‘बग्दैबग्दै’, आर्यशको ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’ र मधुसुदन घिमिरेको ‘मायाको आयतन’ कवितासङ्ग्रह रहेका थिए ।

‘साहित्यपोस्ट काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।