केटी :
सिपालु रहेछौ, बनायौ, सिखिप क्या राम्रो खिपेर
साहसी रहेछौ, आम्लाबुङ ल्यायौ भिरबाट टिपेर
ओ सिपालु पारुहाङ,
तिम्रै मायामा परेँ झन् ।

केटा :
कपास रोपी, धागो काती, तान बुन्ने तिमी हौ
खाबै बनाई, आराखा पार्ने, झन् जान्ने तिमी हौ
ए मिहिनेती सुम्निमा,
तिमीबाहेक नजर जाँदैन अरूमा ।

केटी :
कागुनो रोप्यौ, चारिमा रोप्यौ, फाडेर खोरिया
मन्त्रमुग्ध बनायौ मलाई, गाएर रिसिया
ओ परिश्रमी पारुहाङ,
तिम्रै मायामा परेँ झन् ।

केटा :
काट्यौ खाँबो खिमलाई, चिवेको पुच्छर हेरेर
राख्यौ सबैलाई खिममा, न्यानो मायाले बेरेर
ए मायालु सुम्निमा,
तिमीबाहेक नजर जाँदैन अरूमा ।

केटी :
आपसमा हामी सारेम्मा गर्दै, चलाऔंला सृष्टि

केटा :
युगौँ–युगसम्म बचाउनु पर्छ यो हाम्रो प्रीति

केटी : ओ परिश्रमी पारुहाङ,
तिम्रै मायामा परेँ झन् ।

केटा : ए मायालु सुम्निमा,
तिमीबाहेक नजर जाँदैन अरूमा ।

गीतमा प्रयोग भएका केही चाम्लिङ भाषाका शब्दहरूको नेपाली अर्थः

  • सिखिप : बाँसको काइयो, जसले केश कोर्ने काम गरिन्छ

  • आम्लाबुङ : सुनाखरी फूल

  • आराखा : रक्सी

  • चारिमा : कोदो

  • खिम : घर

  • सारेम्मा : सम्मान, शिर उठाउनु