सिंहदरबारको खरानीमाथि टेकेर
न्यायको गजुरमाथि विश्वास सल्काएर
प्रिय जेन्जी!
तिमीले कुन फूल रोप्न खोज्यौ?
मिहिनेतको पसिनामाथि
विनाशको अस्त्र चलाएर
समृद्धि फुल्ने बोटहरू
जरैदेखि उखेलेर
प्रिय जेन्जी!
तिमीले कुन सुवास दिन खोज्यौ?
भौतिक संरचनामाथि
आगोको हाट लगाएर
सयौँ निर्दोषहरूका बास उजाडेर
प्रिय जेन्जी!
तिमीले कुन संस्कृतिको बीज रोप्यौ?

यो युद्धमा
न तिमीले जित्यौ
न त मैले जितेँ
जित्यो त केवल विनाशले जित्यो।
न त तिमी हाँस्न सक्यौ
न त म हाँस्न सकें
हाँसे त केवल
हाम्रा साझा शत्रुहरू हाँसे।
न त तिमीले केही पायौ
न त मैले केही पाएँ
पायौँ त केवल क्षति पायौँ
पायौँ त आँसु र पीडा पायौँ।

प्रिय जेन्जी!
यो देश तिम्रो पनि हो
यो देश मेरो पनि हो
अझ अङ्कगणितीय हिसाबले हेर्दा
समयको तराजुमा तौलिँदा
यो देश तिम्रै बढी हो
किनकि तिमी जवान छौ।
त्यसैले त
चन्द्र र सूर्यको झन्डा बोकेर
तिमीले आफ्नो पुस्ताको भविष्य खोज्यौ,
आफ्नो पुस्ताको खुसी खोज्यौ।
सुशासनको नारा लगायौ,
समृद्धिको नारा लगायौ,
जीवन दाउमा राखेर
दर्जनौँ साथीहरूको रगतले
रक्तिम इतिहास लेख्यौ।

तर
मेरो एउटा प्रश्न छ तिमीसँग:
देशैभरि लागेको आगोको भुङ्ग्रोमा
रोटी कसले सेक्यो?
देशैभरि उडेको धुवाँको साम्राज्यमा
बाजी कसले माऱ्यो?
तिमी आफैंसँग सोध,
हामीलाई मुटुभरि पीडा दिएर
खुसी कसले मनायो?