साला झुसिलकिरा
मेरो दिमागभित्र घुमिरहन्छ
झुस जस्ता विचारहरू
आँखाबाट
कानबाट
नाकबाट
मुखबाट
सर्प झैँ निस्कन खोज्छन्
निद छैन
मुटुमा कुनै मर्न लागेको भँगेरो
आखिरी दिनहरूको पखेटा फडफडाउँदैछ
पेटभित्र आधा तलाउ पानी छछल्किए झैँ छटपटी छ
आगो छ जनिन्द्रिएहरूमा
कम्मरमुनि
पशुका गोडाहरू जोडिदिए झैँ लाग्छ
जो मलाई घिसारी रहन्छन्
लतार्दै मलाई जंगल जंगल पुर्याउँछन्
सडकभरि
बस्तिभरि
उग्राइरहेका
फिँज काट्दै डुक्राइरहेका पशुहरू भेटिन्छन्
जनावरबाट जनावर नै भएका छन् मान्छेहरू
अशान्त
नङ्ग्रा र दाह्रा गुमाएका तर हिंस्रक
दु:खी
दास, मेशिन र भ्रमित
विषाक्त सूचना चपाइरहेका
गलत निष्कर्ष ओकलिरहेका
निराश
एक्ला एक्लै चौबाटोमा
हतारिँदै घिस्रिरहेका सिलिङ्मिलिङ् भिडहरू
अँध्यारो गटरबाट निस्किरहेका
अँध्यारो गटरमा छिरिरहेका
ठोकिन्छन्
मुस्कुराउनुअघि नाफा घाटाको हिसाब गर्छन्
र नमुस्कुराई भाग्छन्
समाएका हातहरू छुटाएर भाग्छन्
जो जहाँ जति देखिन्छन्
सबै सबै यिनीहरू
सखारै काफ्काको उपन्यासबाट उठेर आएका पात्र हुन्
ग्रेगर शांसाहरू
म खुद एक झुसिलकीरा हुँ।
शंखादेवी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ असार २०८३, शनिबार 










