म जन्मेको चौथो दिन बिहान
मेरो शिर उठाइयो होला
नाम दिइयो होला
बढ्दै जाँदा म
मेरी आमाभन्दा राम्री कोही थिएन
मेरा बाभन्दा जान्ने कोही थिएनन्
यो नै ध्रुव सत्य थियो
यो नै सत्य थियो
बाको टुप्पी च्याप्प समातेर
काँधमा घोडा चढ्दा
लाग्थ्यो, बाभन्दा बलवान कोही छैनन्
यो नै सत्य हो
यात्रामा सँगैका यात्रीहरूलाई
विश्वविद्यालयका दौतरीहरूलाई
उछिनेर अघि बढ्दा
सफल भएको म, गन्तव्य पुगेको म
चेप्टो देखिने पृथ्वी
एरिस्टोटल र प्लेटोले गोलो बनाएपछि
त्यही सत्य भएको थियो
आइज्याक न्युटन आएर
गोलोबाट सुन्तला आकारको बनाए
त्यसयता अन्य सत्यहरूको खोजीमा
निस्किएको छु म
सूर्यमुखी फूलझैँ
कलकलाउँदो यौवन
मरिचजस्तो भएको छ चाउरिएर
अहिले त मेरी आमा पनि थला परेकी छन्
बाले धेरै कुरा जान्दैनन् जस्तो लाग्छ
यतिका लामो यात्रापछि मैले टेकेको क्षितिजले
अर्को क्षितिज देखाइदिएको छ, उ… पर…
मेरा खुट्टाहरू थकिसकेका छन्
यो सत्यको खोजीको यात्रामा
शायद अब म खोलाको पानीमा बग्नेछु
पानीको बगाइ जसरी
समयको यात्राजस्तै
यो सत्य र ध्रुव सत्यहरू त
परिवर्तन भइरहने रहेछन् ।
(यो कविता याक्थुङ् (लिम्बु) भाषाको कविता ‘नुप्लाजङ’ को नेपाली भाषानुवाद हो ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ श्रावण २०८३, शनिबार 




