
‘ऊ राति समयमै सुत्न जान्थेन । मलाई लाग्दछ, ऊ रातभरि बैठक कक्षको टेबलमाथि बसिरहन्थ्यो। ऊ रातको बाह्बजे पानि सुत्न जाँदैनथ्यो, मलाई त्यो सम्झना छ।’ डेइजीले भनिन् ।
‘ऊ साढे बाह्रबजे सुत्न जाने गर्दथ्यो, मधुरो तर जोडदार स्वरमा श्रीमती मिलरले भनिन् ।
‘ऊ धैरै समय दिउँसो सुत्दछ ?’ विन्टरबोर्नले जान्न चाहे ।
“मलाई लाग्दछ, ऊ दिउँसो पनि धेरै समय सुत्दैन, डेइजीले कुरा थपिन्।
“म ऊ निद्रा पुगुन्जेल सुतोस् भन्ने चाहन्छु तर उसले यसो नगरेजस्तो देखिन्छ” उनकी आमाले भनिन् ।
“मलाई लाग्दछ, ऊ साँच्ची नै सबैलाई आजित पार्ने केटा हो,’ डेइजीले बोलिन्।
त्यसपछि त्यहाँ केहीबेर मौनता छाएको थियो । ‘अँ, डेइजी, तिमीले आफ्नै भाइको बिरुद्वमा यसरी कुरा गर्दछ्यौ भनेर मैले सोचेकी पनि थिइनँ, ती परिपक्व नारीले तत्कालै भनिन् ।
‘हो, आमा, ऊ सबैलाई आजित पार्ने केटा हो,’ डेइजीले शान्त हुँदै भनिन्।
‘ऊ बल्ल त नौ वर्षको छ,’ उनकी आमाले तर्क प्रस्तुत गरिन्। अँ, ऊ त्यो महलमा जानेछैन तर म विन्टरबोर्नसँग त्यो महलमा जाँदैछु,’ युवतीले आफ्नो इच्छा प्रकट गरिन्।
आमाले डेइजीको स्वभाविक इच्छा पुरा गर्ने कुनै उत्तर दिइनन् । उनी मौन रहिन्। यसबाट विन्टरबोर्नले उनीहरूको यात्राको योजना गम्भीररूपमा अस्वीकार भएको बुझेका थिए। विन्टरबोर्नले मनमनै भने, उनी सामान्य र कुनै पानि कुरालाई सजिलै नियन्त्रणमा लिने खालकी नारी पो रहिछिन्। उनीसँग गम्भीर भएर केही कुरा गरेमा उनको बेखुसी कम हुन पनि सक्छ होला | ‘अँ, तपाइँकी छोरीले मलाई नम्रतापूर्वक आफ्नो यात्राको पर्यटक मार्गदर्शक हुने अनुमति दिई सम्मान गर्नुभएको छ,’ विन्टरबोर्नले डेइजीकी आमाको मौनता भङ्ग गर्ने कोसिस गरे ।
श्रीमती मिलरका शङ्कालु आँखाले उनीहरूलाई हेरिरहेका थिए। यो हेराइ पीडाबाट प्रभावित भइरहेको थियो तैपनि डेइजीले गुनगुनाउदैँ बिस्तारै आफ्ना पाइला अगाडि सार्न थालिरहेकी थिइन्।
‘मलाई लाग्दछ, तिमीहरू सानो रेलगाडीमा जानु ठिक हुन्छ होला,
उनकी आमाले भनिन् ।
‘हो, अथवा हामी डुङ्गामा पनि जान सक्नेछौँ,’ विन्टरबोर्नले भने । “अँ, म त्यो महलमा अहिलेसम्म पुगेकी छैन, त्यसैले केमा जाँदा ठिक हुन्छ, मलाई साँच्ची नै थाहा छैन, श्रीमती मिलर वार्तालापमा अगाडि बढिन्।
“तपाईं त्यो महलमा जान नसक्ने भएकोमा म दुःखी छु,’ विन्टरबोर्नले भने। उनी ढुक्क भए, यो भनाइमा डेइजीकी आमाको विरोध हुनेछैन । उनी डेइजीसँग त्यो महलमा जान मानसिकरूपमा तयार भइरहेका थिए |
‘हामी त्यो महलभित्र जानको लागि धेरै अघिदेखि सोचिरहेका थियौँ तर जान सकिरहेका थिएनौँ,’ श्रीमती मिलरले भनिन् । ‘डेइजी युवासाथीसँग जुनसुकै ठाउँको पनि यात्रा गर्न चाहन्छिन् । मैले यहाँकी एक जना नारीलाई भेटेकी थिएँ । उनले यहाँका पुराना महल हेर्न लायक छैनन् भनेकी थिइन् । उनले हामीलाई यीभन्दा राम्रा महल इटाली गएपछि हेर्न सकिने बताएकी थिइन् । त्यहाँ हेर्न लायक धेरै महल छन् समेत भनेकी थिइन्,’ श्रीमती मिलरले आत्मविश्वास बढाउँदै भनिन् । ‘हामीले यहाँका केवल मुख्य महलहरूको भ्रमण गर्न चाहन्छौँ । हामीले यस्ता धेरै महलको भ्रमण बेलायतमा गरिसकेका थियौँ,’ श्रीमती मिलरले तत्कालै कुरा थपिन्।
‘हो, बेलायतमा यस्ता सुन्दर महल त छन् तर चिलोनको महल ज्यादै हेर्न लायक छ,’ विन्टरबोर्नले भने ।
‘ठिक छ, यदि इेइजी भ्रमण गर्न चाहन्छिन् भने …। इेइजीले चिलोनको भ्रमण गर्न मान्दछिन् जस्तो मलाई लाग्दैन,’ श्रीमती मिलरले भनिन् । उनको भनाइले चिलोनको भ्रमणको महत्त्वलाई घटाइरहेको आभास दिन्थ्यो।
“मलाई लाग्दछ, डेइजीले यो यात्राबाट आनन्द लिनुहुनेछ,’ विन्टरबोर्नले भने। उनले यस यात्रालाई निश्चित बनाउन चाहिरहेका थिए। यसबाट उनलाई एक युवतीसँग व्यक्तिगत कुराकानी गर्ने अवसर प्राप्त हुने थियो। ती युवती यतिबेला उनको अगाडि नरम स्वरमा मनमनै गीत गाउँदै हिँड्न थालेकी थिइन् । ‘म्याडम, मलाई थाहा छ, तपाईं यात्राको लागि तयार हुनुहुन्न तर तपाईं यात्रामा सहभागी हुनै पर्दछ,’ विन्टरबोर्नले डेइजीको आमाको विचार बुझ्न चाहे।
डेइजीको आमाले उनलाई एकछिन् अस्वीकृतिसूचक हेराइ हेरिन् र मौन हुँदै अगाडि बढिन् अनि सजिलैसँग भनिन्, ‘मलाई लाग्दछ, डेइजी कसैको साथमा जानु राग्नो हुन्छ ।’
विन्टरबोर्नले मनमनै सोचे, यी राम्रो अनुहार भएकी अधबैँसे विवाहिता नारी धेरै चलाख पो रहिछिन् । यिनीसँग भिन्न प्रकारको मातृत्वको विकास भैसकेको रहेछ। यिनी तालको छेउमा अवस्थित पुरानो अँध्यारो सहरमा रहेर पनि सामाजिक सम्पर्कमा धेरै अगाडि पो रहिछिन् । श्रीमती मिलरकी पुल्पुल्याएर पालिएकी छोरीले चर्को स्वरमा बोलाएकीले बिन्टरबोर्नको शोचमग्नता भङ्ग भएको थियो ।
‘विन्टरबोर्न !’ डेइजी गुनगुनाइन् ।
‘मैयाँ !’ युवकले भने ।
‘तपाईँले मलाई डुङ्गामा लैजान चाहनुहुन्न र ?’ डेइजीले भनिन् ।
‘अहिले नै लैजाउँ ?’ उनले सोधे ।
‘हो, अहिल्यै नै !’ डेइजीले भनिन् ।
‘पागल त भएकी छैनौँ ? के कुरा गरेकी आनी मिलर !’ डेइजीकी आमाले आश्चर्य मान्दै भनिन् ।
‘यो गर्मी ऋतुको रात थियो। ताराको प्रकाशले तालको पानी उज्यालो बनाइरहेका थिए। उता डेइजी कल्कलाउँदी थिइन् । राम्री थिइन्। जवान थिइन् । उनले यस्तो समयमा यस्ती युवतीसँग डुङ्गामा मार्गदर्शक भएको रमाइलो अनुभव अहिलेसम्म लिएका थिएनन् । उनले आफूलाई रोक्न सकेनन् र उत्साहित हुँदै भने,’म्याडम, म अनुरोध गर्दछु, उहाँलाई जाने अनुमति दिनुहोस् ।’
‘मलाई लाग्दछ, उनी त्यहाँ जाने चाहना राख्दिनन् बरू होटलमा जान चाहन्छिन्,’ डेइजीकी आमाले भनिन् ।
‘म ढुक्क छु, उहाँले मलाई चिलोन महलमा लैजान चाहनुहुन्छ । उहाँ मलाई लैजानको लागि ज्यादै समर्पित हुनुहुन्छ,’ डेइजीले भनिन् ।
‘मैले ताराको प्रकाशले झलमल्ल भएको रात्रिमा तपाईंलाई डुङ्गा खियाएर चिलोनसम्म लैजाने छु,’ विन्टरबोर्नले भने ।
‘मैले यस कुरामा विश्वास गर्दिन,’ डेइजीले भनिन्।
“ठिक भन्यौ,’ अचानक परिपक्व नारीले भनिन्।
‘तपाईंले आधी घण्टादेखि मसँग खासै कुरा गर्नु भएको छैन नि ।’ डेइजीले भनिन् ।
‘मैले तपाईंकी आमासँग केही रमाइला कुरा गरिरहेको छु’ विन्टरबोर्नले भने ।
‘अँ, म तपाइँसँग डुङ्गामा जान चाहन्छु,’ डेइजीले दोहोर्याउँदै भनिन्। तिनीहरू कुरा गर्न रोकिए । डेइजी विन्टरबोर्नतर्फ फर्किन् । उनले विन्टरबोर्नलाई हेरिरहिन् । तिनी मुस्कुराइरहेकी थिइन् । उनका सुन्दर आँखा चम्किरहेका थिए। उनले ठुलो हाते पङ्खाले आफूलाई हम्किरहेकी थिइन् । बिन्टरबोर्नले उनलाई ज्यादै राम्री देखेका थिए। विन्टरबोर्नले सोचे, उनी योभन्दा राम्री हुन सक्दिनन् ।
‘तालको घाटमा आधी दर्जन डुङ्गा बाँधेर राखिएका छन्। तपाइँले मेरा पाखुराको सम्मान स्वीकार्नुहुन्छ भने हामी त्यहाँ गई तीमध्ये एउटा डुङ्गालाई छान्न सक्नेछौँ,’ विन्टरबोर्नले बगैँचाबाट तालमा झर्ने सिँढीलाई देखाउँदै भने ।
डेइजी हाँस्दै उभिइन् अनी पछाडि फर्किइन् र सङ्कोच नमानी भनिन्, ‘मैले पुरुषलाई भद्र र औपचारिक भएको मनपराउँदछु ।’
‘मैले तपाईंलाई विश्वास दिलाउँदछु, यो औपचारिक प्रस्ताव हो,’ विन्टरबोर्नले भने ।
“म तपाईँसँग चिलोन जान तयार छु। यसको लागि तपाईंले मेरो बारेमा केही कुरा गरिदिनुपर्ने हुन्छ,’ डेइजीले आग्रह गरिन्।
“तपाईंलाई थाहै छ, हामीलाई चिलोन जान कुनै समस्या नै छैन। मलाई डर लागिरहेको छ, कतै तपाईँले मलाई जिस्क्याइरहेको त हुनुहुन्न ?’ विन्टरबोर्नले भने ।
‘बाबु, मलाई लाग्दछ, उनले तपाइँलाई जिस्क्याइरहेकी छैनिन्,’ श्रीमती मिलरले टिप्पणी गर्दै भनिन् ।
“त्यसोभए जाउँ न त ! मलाई तपाईँ चढेको डुङ्गा खियाउन दिनुस् न त !’ विन्टरबोर्नले युवतीलाई भने ।
तपाईँले भनेजस्तै गरी चिलोन जान पाए कति रमाइलो हुन्थ्यो होला !’ डेइजीले भनिन् ।
‘कुरा गर्दा त यति रमाइलो भएको छ, जान पाए कति रमाइलो हुन्थ्यो होला त !’ विन्टरबोर्नले भने ।
‘हो, एकदम रमाइलो हुन्थ्यो होला !’ डेइजीले भनिन् तर उनलाई साथ दिनको लागि डेइजीले कुनै चाल देखाइनन् । उनी उठेर हाँसिमात्र रहिन् ।
‘मलाई लाग्दछ, अहिले कति बजेको छ भनी जान्नु तिमीहरूका लागि राम्रो हुनेछ,’ टिप्पणी गर्दै डेइजीकी आमाले उनीहरूको वार्तालापलाई हस्तक्षेप गरिन् ।
‘अहिले एघार बज्यो म्याडम’ नजिकैको अँध्यारोबाट विदेशी लवज भएको आवाज सुनियो । विन्टरबोर्न उक्त आवाज आएतर्फ फर्किए। उनले राम्रा लुगा लगाएको एउटा मानिसलाई देखे। ऊ तिनीहरूको नोकर थियो। ऊ भरखर आइपुगेको थियो ।
“ए युजिन । म डुङ्गामा बाहिर जाँदैछु,’ डेइजीले भनिन् । उसले ती आमाछोरीलाई अभिवादन गर्यो । ‘मैयाँ एघार बजेको समयमा डुङ्गामा बाहिर जान उपयुक्त हुन्छ र ?’ उसले भन्यो । ‘म डुङ्गामा छिट्टै नै बाहिर जाँदैछु’ डेइजीले भनिन् ।
‘यो समयमा डुङ्गामा बाहिर जान उचित छैन भनी उनलाई भन्देऊ त ।’ श्रीमती मिलरले कुरियरलाई भनिन्।
‘मैयाँ मलाई लाग्दछ, हजुर यस्तो रातको समयमा डुङ्गामा बाहिर जानु राम्रो हुनेछैन,’ युजिनले भन्यो ।
विन्टरबोर्नलाई लाग्यो, डेइजीले आफ्नो नोकरसँग बढी आत्मीयता देखाइरहेकी छिन् । विन्टरबोर्नले ईश्वरसँग इच्छा प्रकट गरे, यी राम्री युवतीले यसो नगरेको भए हुन्थ्यो तर उनले डेइजीलाई केही पनि भनेनन् ।
“मलाई लाग्दछ, तपाईंले युजिनको विचारलाई ठिक ठान्नु हुन्न। युजिनले कुनै पान कुरा राम्रोसँग नसोची नै भन्दछ,’ डेइजीले भनिन् ।
म तपाईंलाई सेवा गर्नको लागि तयार छु,’ विन्टरबोर्नले भने।
‘मैयाँले एक्लै जाने प्रस्ताव राख्नु भएको छ र ?’ युजिनले श्रीमती मिलरसँग सोध्यो ।
“ए, होइन, उहाँ भद्र पुरुषसँग, डेइजीकी आमाले जवाफ दिइन् ।
कुरियरले विन्टरबोर्नलाई एकछिन हेर्यो । विन्टरबोर्नले कूरियरलाई हाँसिरहेको देखे, त्यसपछि कुरियरले गम्भीर हुँदै टाउको निहुराएर भन्यो, ‘जसरी मैयाँ खुसी हुनुहुन्छ ।’
“तपाईँ मसँग चिलोन जान पाउनु भएन भने गुनासो गर्नुहुनेछ भनेर मैले अगाडि नै अनुमान गरिसकेकी थिएँ तर म अहिले नै तपाईंसँग चिलोन जाने कुरामा सहमत छैन, डेइजीले भनिन् ।
“तपाईं अहिले नै मसँग चिलोन जानुहुन्न भने मैले तपाईंसँग ज्यादै गुनासो गर्नेछु,’ विन्टरबोर्नले भने ।
“मलाई पनि त तपाईंसँग अहिले नै जान नपाउँदा चिन्ता लागिरहेको छ नि ! यति भन्दै ती युवती हाँस्न सुरू गरिन् ।
‘र्यान्डोल्फ सुतिसक्नु भएको छ,’ कुरियरले उदास हुँदै भन्यो ।
‘ए, डेइजी । हामी अहिले होटलमा जान सक्दछौँ,’ श्रीमती मिलरले भनिन्।
डेइजी विन्टरबोर्नबाट थोरै टाढा भइन् र उनलाई हेरेर मुसुक्क मुस्कुराइन् अनि पङखा हम्किँदै भनिन्, ‘ शुभरात्री, मलाई लाग्दछ, तपाईं निराश वा वाक्क हुनुभएको छ अथवा यस्तै अनुभव गरिरहनु भएको छ !’
विन्टरबोर्नले डेइजीलाई हेरिरहे । डेइजीले उनलाई बिदाइको लागि हात अगाडि बढाइन् । विन्टरबोर्न नजिकै गई उनको हात समाउँदै भने, ‘तपाइँले मलाई त छक्क पार्नुभयो नि ।’
‘अँ, मलाई लाग्दछ, मेरा यी कुराले तपाईँलाई रातभरि अनिदो राख्ने छैनन्,’ डेइजीले फुर्तीसाथ भनिन् । त्यसपछि डेइजी र उनकी आमा आफ्नो
प्रिय नोकर युजिनको साथमा होटलतिर लागे ।
विन्टरबोर्न उभिएर उनीहरूलाई हेरिरहेका थिए । उनलाई डेइजीले साँच्ची नै छक्क पारेकी थिइन् । उनलाई त्यो ठाउँ छाड्न मन लागेकै थिएन। उनी ती युवतीसँग अचानक परिचित भएको र एकाएक विचार परिवर्तन गरेको रहस्य बुझ्न खोज्दै शोचमग्न भएर करिब पन्ध्र मिनटजति तालको नजिकै बसिरहेका थिए । अन्त्यमा उनी ती युवतीसँग नयाँ ठाउँ घुमेर बढी आनन्द लिनुपर्दछ भन्ने निष्कर्ष निकाली हिँडेका थिए।
बिन्टरबोर्न दुई दिनपछि डेइजीसँग चिलोन महल जान तयार भइरहेका थिए । उनले डेइजीलाई त्रोइस कुरोन्ज होटलको ठुलो बैठक कक्षमा पर्खिरहेका थिए । त्यहाँ होटलका करियर, कामदार र विदेशी पर्यटकहरू थिए। उनीहरू अल्छी हुँदै कुर्चीमा अडेसा लागेर बसिरहेका थिए । उनीहरूले लामो समयदेखि एकटकले बिन्टरबोर्नलाई हेरिरहेका थिए । विन्टरबोर्नले डेइजीलाई यहाँ पर्खन त चाहेका थिएनन् तर डेइजीले चाहेकी थिइन् त्यसैले उनी बाध्य भई पखिरहेका थिए। उनी हलुङ्गो पाइलामा सिँढी ओलँदै आइरहेकी थिइन् । उनले लामा पन्जा लगाएकी थिइन् । उनले ओलदै गर्दा यसका टाँक पनि लगाउँदै गरेकी थिइन् । उनीसँग ठुलो छाता थियो। उनले त्यो बन्द छातालाई आफ्ना सुन्दर औँलाले चाप्प समाइरहेकी थिइन् । उनी यात्रा गर्दा लगाउने धमिलो रङ्गको कपडामा चिटिक्क परेकी थिइन् । यो कपडा उनलाई निकै सुहाइरहेको थियो । विन्टरबोर्न कल्पनामा डुबुल्की मार्ने स्वभावका थिए । हाम्रा पुर्खाले यिनी जस्तालाई अतिशय भावना भएका मानिस भन्ने गर्दथे। उनले डेइजीले लगाएका कपडा अनि उनका विशाल भर्याङ्का सिँढीबाट
हतारिँदै तलतिर झरिरहेका विश्वासिला पाइला हेरेर आनन्दित भइरहेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० असार २०८३, मंगलवार 










