वस्तु
मूलः अलबर्टो मोराभिया
अनुवादः गोविन्द गिरी प्रेरणा
गल्ली नराम्रो थिएन र त्यति साहो सुन्दर पनि थिएन । दुवैतिर बदामी रङका घरहरू थिए। किरो र लिविया यो गल्लीमा घर खोज्न आएका थिए। उनीहरूको बिहा हुने भएको थियो र उनीहरू चाहन्थे कुनै एकान्त गल्लीमा आफ्नो लागि घर होस् । यो निकै एकान्त गल्ली थियो। लिविया निकै उत्सुकतासहित एउटा घर अगाडि उभिई। किरोलाई लाग्यो लिवियाको उत्साह आवश्यकता भन्दा बढी छ । उसले लिवियाको हात आफ्नो हातले अँचेट्यो र सोध्यो – “तिमीले यो गल्लीमा कुनै घर खाली छ भनेर कसरी थाहा पायौ ?”
“मैले बिहानै धेरै गल्लीहरू चहारेको थिएँ। यो गल्ली मलाई राम्रो लाग्यो। यो घरको भित्तामा ‘भाडाको लागि’ बोर्ड झुण्डिएको थियो।”
“तिमीले माथि गएर यसका कोठाहरू हे-यौ?”
“अहँ, केवल चौकिदारसँग सोधेथें र उसले बताएथ्यो, दुई बजेदेखि चार बजेसम्म हामीले यो घर हेर्न सक्छौं !”
किरोले ढोका बाहिर लेखिएको नाउँ पढ्यो – “इपोलिटो । यस्तो पनि कहीं नाम हुन्छ ?” किरोले भन्यो ।
“हामीलाई के मतलब? कसैको नाउँ होला !” लिवियाले बेवास्तापूर्वक भनी।
“तर यो नाउँ निकै अपूरोजस्तो छ । आखिर यो मानिस डाक्टर, वकिल, ब्यापारी, केही त होला । क्यै पनि लेखेको छैन। ”
लिवियाले फेरि पनि बेवास्तापूर्वक पहिले नाउँको पाटीतिर अनि त्यसपछि घण्टीतिर हेरी। किरोको मनमा एउटा चिसो शितलहरी पैदा भयो। लिवियाको कल्कलाउँदो मुख, ठूला ठूला आँखा र गुलाफी ओठले किरोको मनमा बेचैनी पैदा गरिरहेथ्यो । लिवियालाई दुनियाँको आँखाबाट लुकाउने र छिटै आफूभित्र समाहित तुल्याउने तीव्र इच्छा उसको मनमा पैदा भयो।
“मलाई एकपल्ट म्वाई खान देउन!” किरोले धैर्यहीन भएर भन्यो।
“अहँ, अहिले होइन!” लिवियाले भनी र आफ्नो हात घण्टीतिर बढाई।
“एकपल्ट!… ” किरोले भन्यो र लिवियालाई आफूतिर तानि हाल्यो। लिवियाले उसलाई घचेटी र घण्टी थिचिदिई। तर किरोले लिवियालाई फेरि अँगालो हालिहाल्यो र एकपल्ट म्वाईं खायो। ठिक त्यसैबेला ढोका खुल्यो र किरोले देख्यो – सामुन्ने संघारमा एउटा नवयुबक छ । उसको कपाल वाक्लो र कल्की परेको थियो । उसको आँखा देख्दा भखरै सुतेर उठे जस्तो अनुभव हन्थ्यो। उसको नाक सानो थियो । ओठचाहीं पुष्ट । किरोलाई लाग्यो – लिविबा हडबडाएकी छ ।
“आउनुहोस् !” संघारमा उभिएको त्यस नवयुवकले भन्यो । उसको आवाज भासिएको थियो। किरोलाई यस्तो लाग्यो मानौं यहाँ केही खतरा छ । तर सम्हालिएर भन्यो, “हामी घर खोज्न आएका हौं। छिटै नै हाम्रो बिहा हुँदैछ ।”
कोठामा गएर किरोले लिवियातिर हे-यो। फेरि लिवियासँगको आफ्नो सम्बन्ध र अधिकारको पुष्टि गर्न लिवियासँग सोध्यो – “मेरो ओठमा लिपिस्टिकको दाग त लाग्या छैन?”
“अहँ!” लिवियाले लाज मान्दै उत्तर दिई।
“मलाई त त्यस्तै लाग्यो।”
“मैले आज लिपिस्टिक नै लगाएकी थिईंन ।” लिवियाले कुरा काट्दै भनी र कोठा बाहिर हेर्न थाली।
कोठा राम्रो थियो, भित्ताहरू सफा थिए र कोठामा लामा लामा पिठ्यूँ भएका कुर्सिहरू थिए ।
“तपाईं…,” किरोले निकै ध्यानपूर्वक इपोलिटोतिर हे-यो।
“म चलचित्रमा काम गर्छु । कथाहरू पनि लेख्छु ।”
“तपाई निर्देशक पनि हुनुहुन्छ कि?” लिविद्याले उत्सुकतापूर्वक सोधी ।
“जब कुनैबेला चलचित्र बनाउँला, त्यतिबेला निर्देशक पनि हुनेछु । अहिले होइन,” ऊ हाँस्न थाल्यो ।
“चलचित्रमा जे हुन पनि सजिलै छ… सजिलो हुन्छ!” किरोले अलि मन नपराएको तरिकाले झण्डै झण्डै झर्के जसरी जवाफ दियो ।
“यो सुत्ने कोठा फराकिलो छैन, तर बैठक चैं फराकिलो नै छ,” नवयुवकले भन्यो र बैठक देखायो। साँच्चै नै बैठक कोठा फराकिलो थियो । अलिपर झ्यालबाट इपोलिटोको आफनो कोठा पनि देखिन्थ्यो । त्यहाँ निकै ठूलो पलङ्ग थियो ।
“अर्थात् तपाईं एक्लै हुनुहुन्न । तपाईंकी श्रीमती पनि…,” किरोले ठूलो पलङ्गतिर हेर्दै भन्यो ।
“म एक्लै बस्छु । ठूलो पलङ्गमा सुत्न मलाई रमाइलो लाग्छ,” उसले भन्यो, ” त्यो अर्को सुत्ने कोठा ठूलो छैन तर…”
“हाम्रो लागि एकदम ठीक छ,” सँगै उभिएकी लिवियाले भनी ।
किरोलाई बुझ्न गाह्रो परिरहेथ्यो- इपोलिटोको गह्रुङ्गो र निद्राले लठ्ठ परेको आँखाले किन उसलाई विचित्र प्रकारको बेचैनी उत्पन्न गरिरहेथ्यो र ऊ यो पनि बुझ्न सकिरहेको थिएन- लिवियालाई यो ठाउँ किन यति विघ्न मन परिरहेको छ। लिवियासँग आफ्नो सम्बन्ध र आधिपत्य दोहऱ्याउन उसलाई निकै आवश्यकता छ । उसले लिवियाको कम्मरमा अँगालो हालेर सोध्यो – “प्रिय ! तिमीलाई यो घर मन प-यो ?”
“निकै मन प-यो ।”
र उसको रोजाइलाई स्वीकार गरेबापत किरोले लिवियाको गर्धनमा म्वाई खायो ।
टेलिफोनको घण्टी बजिरहेथ्यो । इपोलिटो टेलिफोन उठाउन गयो । लिवियाले झर्केर किरोलाई भनी – “यस्तो चिन्नु न जानुको मान्छे अगाडि लाजै नमानी जे पनि गर्ने, के चाल हो यस्तो ?”
बैठकमा निकै ठूला ठूला झ्यालहरू थिए । भुईंको रङ पनि दुधिलो प्रकारको थियो । कुर्सीका काठ चम्किएका थिए। किताब राख्ने दराज फलामको थियो र कोठाको कुनामा टाइपराइटर राखिएको थियो ।
“बैठक साँच्चै नै राम्रो छ,” किरोले भन्यो ।
“निकै नै राम्रो…” लिवियाले सहसा जवाफ दिई ।
इपोलिटो कोठामा फर्केको थियो । किरोले लिवियासँग सल्लाह गरिसकेथ्यो, उनीहरूले यो घर लिनुपर्छ ।
“दिउँसो खान आउन्नँ भनेर खबर गरिदिउँ क्यारे !” किरोले भन्यो ।
“टेलिफोन बाहिर बरण्डामा छ,” इपोलिटोले भन्यो।
इपोलिटोले लिवियालाई मात्र कोठामा छाडेर किरोबाहिर निस्कँदा अनायासै हडबडायो । तर उसले देख्यो, बाहिर बरण्डामा टेलिफोन नजिकै एउटा ठूलो ऐना झुण्डिएको थियो जहाँबाट कोठाका यावत् कुरा देख्न सकिन्थ्यो ।
किरोले नम्बर मिलायो र सामुन्नेको ऐनामा हे-यो – लिवियाले अघि बढेर इपोलिटोको गाला सुम्सुम्याई र उसको आँखामा आँखा जुधाएर हेरी अनि झटपट एकपल्ट म्वाई खाई र पर हटी… ।
किरोको हात शिथिल भयो । टेलिफोन उसले त्यत्तिकै फाल्यो र कोठामा फर्केर आयो ।
“मलाई एउटा कामको सम्झना भयो । अहिल्यै फर्केर गैहाल्नु प-यो । घरको बारेमा आज हामी निर्णय गर्न सक्दैनौं,” किरोले भन्यो ।
लिवियालाई आफ्नो गाडीमा राखेर किरोले चूपचाप गाडी चलाइरह्यो । यसरी कति समय बित्यो पत्तै भएन । किरोले अचानक गाडी रोक्यो ।
“यो सबथोक मेरालागि एउटा धोका थियो,” रिसले रन्थनिएर किरोले भन्यो।
“धोका ? कस्तो कुरा गर्दैछौ ?”
“तिमी आफ्नो यो प्रेमीसँग आएर बस्न चाहन्थ्यौ भने व्यर्थैमा मलाई बीचमा ….”
“को प्रेमी?”
“तिमीलाई लाग्यो होला मैले तिमीहरूलाई देखिनँ, तिमीले उसको गाला मुसारेको, उसलाई म्वाई खाएको…”
“कसको? इपोलिटोको ?”
“तिमी उसको पूरा नाउँ किन लिन्नौ?
“मलाई उसको पूरा नाउँ नै थाहा छैन ।”
“अर्थात् तिमीलाई आफ्नो प्रेमीको पूरा नाउँ पनि थाहा छैन ?”
“ऊ मेरो प्रेमी नै होइन ।”
अचानक दुवै चूप लागे । लिवियाले निकै सम्हालिएर यो शान्त वातावरण भत्काई, “मैले आजभन्दा पहिले इपोलिटोलाई कहिल्यै देखेकी थिइनँ । उसले ढोका खोल्दाखेरी तिमीले मलाई म्वाईं खाएको देखेको थियो । उसले सोच्यो कि म ठीक खालकी आइमाई होइन । त्यसैले भित्र पस्ने बित्तिकै उसले तिम्रो आँखा छलेर मेरो हात अँठ्याएको थियो । म तिमीलाई भन्ने अवसर खोज्दै थिएँ, यहाँबाट जाउँ तर उसको सामुन्ने तिमीले फेरि म्वाई खायौ । त्यसैले जब तिमी टेलिफोन गर्न गयौ, अनि मैले….”
“म तिमीलाई बुझ्न सकिरहेको छैन लिविया,” किरोले थकित स्वरमा भन्यो ।
“तिमीले मेरो अपमान गरेका थियौ, तिमीले मलाई केवल उपभोग गर्ने वस्तु सम्झेका थियौ, एउटा वस्तु मात्र । त्यस समय मेरो सामुन्ने इपोलिटोको सट्टा कोही बूढो मान्छे भए पनि, कुनै दैत्य अथवा कोढी – म यसरी नै म्वाई खान्थें । यो मैले तिम्रो कारणले गरेकी होइन, त्यो मैले आफ्नै कारणले गरेकी थिएँ, म आफूलाई प्रमाणित गर्न चाहन्थें – म वस्तु होइन ।”
किरोले गाडीलाई विस्तारै अघि बढाउँदै लिवियासँग सोध्यो – “तिमी फेरि इपोलिटोलाई भेट्न आउँछौ?”
“मैले किन उसलाई भेट्ने? मैले त उसलाई मात्र वस्तु बनाएकी थिएँ, जस्तो तिमीले मलाई बनाएका थियौ। म ऊसँग फेरि कहिल्यै भेट्ने छैन ।”
०००



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
३० असार २०८३, मंगलवार 









